बर्दिया,असोज ४(फरकसमाचार)/ जिल्लामा विविध कार्यक्रमसहित संबिधान दिवस मनाईएको छ । संबिधान दिवसको अवसरमा प्रभात फेरी, कैदीबन्दीलाई सामाग्री हस्तान्तरण तथा बर्दिया अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरि भव्य रुपमा बिहीबार संबिधान दिवस तथा राष्ट्रिय दिवस मनाईएको हो ।
प्रभात फेरी कार्यक्रमपछि गुलरिया नगरपालिकाको सहयोगमा बर्दिया कारागारमा रहेका कैदीबन्दीहरुलाई २ थान सिलाई मेसिन र खेलकुद सामाग्री वितरण गरिएको थियो ।
त्यसैगरि कर्मचारी मिलन केन्द्रको सहयोगमा बर्दिया अस्पतालमा उपचाररत ५५ बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।
विशेषगरि संबिधान जारी भएको ऐतिहासिक उपलब्धी लोकतान्त्रिक गणतन्त्र मुलुकको ऐतिहासिक संबिधान बनेको सम्झनामा यो दिवस मनाईरहेको प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्माले बताईन् । ‘यस्ता दिवसहरुले यसका कार्यान्वयनको विषयमा समिक्षा गर्दै राम्रा कुरालाई निरन्तरता दिदै कमिकमजोरीलाई सुधार गर्दै हामी सबैको भुमिकालाई थप प्रभावकारी बनाएर कार्यान्यनतर्फ अगाडि बढाउने सन्देश दिईरहेको छु,’प्रजिअ शर्माले भनिन्,‘नेपालको संबिधानले सबै नागरिकहरुलाई आर्थिक समानता, सामाजिक न्याय र सम्वृद्धिको विषयमा समन्वय भईरहेको छ ।’ सबै किसिमका असमानता, हिंसा, विभेदको न्युनिकरण गर्ने र सम्पुर्ण नेपालीहरुलाई एकतामा आबद्ध गर्ने संबिधानमा व्यवस्था छ । यसको कार्यान्वयन गर्ने जिम्मेवार निकायका पदाधिकारीहरुको निष्पक्ष र प्रभावकारी भुमिकाबाट यो संबिधान प्रभावकारी हुने प्रजिअ शर्माले भनाई राखिन् ।
कोण सभालाई सम्बोधन गर्दै हाम्रो देश कसैको गुलाम नभएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘यो हाम्रो सब भन्दा ठुलो उपलब्धी हो,’नगर प्रमुख यादवले भने,‘जसकारण हामी शिर ठाडो गरेर बोल्न सक्छौं ।’
अब संबिधानको मुल्यांकन हुन आवश्यक रहेको संघिय सांसद अब्दुल खानले बताए । ‘नेपालको ऐतिहासमा हेर्दा १५ वर्ष भन्दा अगाडि टिकेको छैन,’सांसद खानले भने,‘त्यसैले संबिधानको वास्तवमा मुल्यांकन गर्ने समय आएको छ ।’ जताततै संबिधान संशोधनको आवाज उठिरहेको छ । वास्तवमा संबिधान संशोधनको कुरा किन उठिरहेको छ वर्तमान गठबन्धन सरकारले मुल्यांकन गरि सार्वजनिक रुपमा ल्याउनुपर्ने धारणा सांसद खानले व्यक्त गरे ।
व्यवस्था परिर्वतनसंगै धेरै उतार चढावपछि यो संबिधान निर्माण भएको संघिय सांसद संजय कुमार गौतमले बताए । ‘नौ वर्षअघि जारी भएको संबिधानमा केही साथीहरुको बिमति छ,’सांसद गौतमले भने,‘हामीले पनि यो संबिधान पुर्ण छैन भनिरहेका छौं ।’ यो गतिशिल दस्तावेज हो,यसलाई हामीले बिस्तारै संशोधन गर्दै समयसापेक्ष ढंगले लैजानुपर्छ भनेर कुरा उठाईरहेको सांसद गौतमले भनाई राखे ।
जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा बिहीबार बिहान ७ बजे गुलरिया नगरपालिका–६ गणेशमान चोक देखि सहितपार्कसम्म प्रभात फेरी निकालिएको थियो । प्रभात फेरी कार्यक्रममा संघिय सांसद संजय कुमार गौतम, प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्मा, सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत राजनीतिक दल र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहिद पार्क स्थित रहेका अमर शहिदहरुको शालिकमा सहभागीले माल्यार्पण गरेका थिए । निकालिएको प्रभात फेरी गुलरिया नगरपालिका–६ राधाकृष्ण चोकमा कोण सभामा परिणत भएको थियो ।