बर्दिया,माघ २९(फरकसमाचार) / लैङ्गिक तथा घरेलु हिंसा लुकाउन नहुने गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसीले बताएका छन् । गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा स्थित महिला तथा बालबालिका शाखाद्वारा आयोजित लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरणका लागि महिला पुरुष समविकास तालिममा बुधबार प्रमुख प्रशासकीय अधिकृत जैसीले यस्तो बताएका हुन् ।
लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरणका लागि पिछडिएका बस्तीमा नगरपालिकाले प्राथमिकताकासाथ जनचेतनामुलक तालिमको आयोजना गरिरहेको प्रमुख प्रशासकीय अधिकृत जैसीले बताए । ‘समाजमा हिंसाका कुनै पनि घटना हुन सक्छन्,’प्रमुख प्रशासकीय अधिकृत जैसीले भने,‘त्यस्ता घटना भएमा तत्काल नगरपालिकाको महिला शाखा, न्यायिक समितिकी संयोजक उप–प्रमुख वा अन्य सम्बन्धित निकायमा जानुपर्छ ।’ जबसम्म हिंसाका घटना बाहिर आउदैनन्,तबसम्म न्युनीकरण हुदैन । जसकारण लैङ्गिक तथा घरेलु हिंसा लुकाउन नहुने प्रमुख प्रशासकीय अधिकृत जैसीले भनाई राखे ।

लैङ्गिक हिंसाका कारण र न्युनिकरण उपायको सम्बन्धमा गुलरिया नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत मुकुन्द अर्यालले सहजीकरण गरेका थिए ।
पिछडिएका बस्तीका महिलाहरुको आयस्तर वृद्धि गर्न सिपमुलक तालिम ल्याउन जरुरी रहेको गुलरिया नगरपालिका–८ का वडा अध्यक्ष धर्मेन्द्र कुमार बनियाले बताए ।
बाढी प्रभावित यस समुदायको आयस्तर वृद्धिको लागि कृषिमा सघाँईरहेको कारितास नेपालका कार्यक्रम संयोजक नरेन्द्र केसीले बताए ।
लैङ्गिक तथा घरेलु हिंसा न्युनीकरण गर्न, महिलाहरुको आर्थिक सशक्तिकरण र महिलाको विकासमा पुरुषहरुको के भुमिका रहन्छ भन्ने जानकारी गराउने उदेश्यले दुई दिने तालिमको आयोजना गरिएको गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख गिता बाकाबलले बताईन् ।
गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरणका लागि महिला पुरुष समविकास तालिम बुधबार देखि सुरु भएको छ । दुई दिने तालिमबाट सहभागीहरु हिंसा, प्रजनन् स्वास्थ्य र पोषण सम्बन्धी जानकार हुने आयोजक शाखाको विश्वास छ । उक्त तालिम बिहीबारसम्म चल्नेछ । गुलरिया नगरपालिका–८ का वडा अध्यक्ष धर्मेन्द्र कुमार बनियाले बुधबार तालिमको उद्घाटन गरेका थिए ।

