सुर्खेत, चैत २ : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले शक्ति सङ्घर्षको चेपुवाले कर्णाली पछि परेको बताए । रुपान्तरण नेपालद्वारा आज यहाँ आयोजित ‘कर्णाली सभ्यतामाथि बहस’ कार्यक्रममा उनले भाषा, संस्कृति र सभ्यताको केन्द्रविन्दु कर्णाली तत्कालीन राज्य व्यवस्थाले पछि पारेका कारण माथि उठ्न नसकेको आरोप लगाउनुभयो । “कर्णालीको सतह र गर्भभित्र पानी र खानीलगायत थुप्रै प्राकृतिक स्रोतहरु छन्,” उनले भन्नुभयो, “यद्यपि तिनको नगदीकरण हुन सकेको छैन ।”
कर्णालीको भाषा, सभ्यता र संस्कृतिको संरक्षण तथा खस भाषा पाठ्यक्रमको अगुवाइ गर्न मध्यपश्चिम विश्वविद्यालयलाई अनुरोध गर्दै मन्त्री ज्वालाले आर्थिक समृद्धिको मेरुदण्ड मानिने सिल्करोड अहिलेको उत्तर–दक्षिण जोड्ने कर्णाली करिडर भएको जनाउनुभयो । कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले सिल्क रोडले उतिबेलाको कर्णाली उत्पादन र व्यापारमा सम्पन्न भएको बताए । उनले भन्नुभयो, “हामी पुरानो सिल्क रोडलाई जीवित बनाएर २१औँ शताब्दीको कर्णाली निर्माण गर्न सक्छौँ, मूलतः कर्णाली सभ्यताको बलियो आधार भनेको भाषिक इतिहास नै हो ।”
उहाँका अनुसार बर्दियाको ठाकुरद्वारा, सुर्खेतको काँक्रेविहार, दैलेखको दुल्लु, कालीकोटको चिलखाया, जुम्लाको सिञ्जा हुँदै हुम्लाको हिल्सा मानसरोवर जोड्ने गरी प्रदेश सरकारले योजना अगाडि बढाएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कर्णाली सभ्यताको मुहान भएको बताए । शिक्षा र सूचना संसारको सबैभन्दा बलियो चीज भएको बताउँदै उनले कर्णालीलाई सुवर्ण भूमिका रुपमा विकास गर्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने वचन दिए ।
त्रिभुवन विश्वविद्यालयमा प्रध्यापनरत डा मधुसूदन गिरीले भौतिक विकासमात्र विकास नभई अभौतिक विकास पनि कर्णालीको पहिचान भएको बताए । भाषा, सभ्यता र संस्कृतिले सम्पन्न कर्णालीको इतिहासलाई विभिन्न लेखक तथा इतिहासकारले तोडमोड गर्दै लगेको तर्क गर्दै डा गिरीले यसको वास्तविक इतिहास ल्याउनतर्फ सबै विद्वत्वर्ग लाग्न अनुरोध गरे । कर्णालीलाई राष्ट्रियरुपमा बिकाउ गर्ने काम गरिएको उनको आरोप थियो ।
बहसका सहभागीले कर्णालीको भाषा, सभ्यता, संस्कृति, कला, साहित्यको वास्तविक इतिहास ल्याउन पुरातात्विक अध्ययन आवश्यक रहेको औँल्याउनुभको थियो । उक्त कार्यक्रममा कर्णालीको शैक्षिक, सांस्कृतिक, भाषा, साहित्य, कला र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मानसमेत गरिएको थियो ।
कोरोना भाइरस : प्रदेश अस्पतालमा पाँच ‘आइसोलेशन बेड’
कोभिड १९(कोरोना भाइरस)का बिरामीलाई लक्ष्य गरेर कर्णाली प्रदेश अस्पतालमा पाँच आइसोलेसन बेड तयार गरिएको छ । विश्वमा महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसलाई कर्णालीमा भित्रिन नदिन उच्च सतर्कतासहित आइसोलेशन र क्वारेन्टाइन बेड तयारी अवस्थामा राखिएको हो । प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले तत्कालका लागि पाँचवटा आइसोलेशन बेड तथा २० क्वारेन्टाइन बेड तयारी अवस्थामा राखिएको जानकारी दिए । उनले केही दिनमै अस्पतालमा २५ आइसोलेशन बेड र १०० क्वारेन्टाइन बेड तयार गरिने बताए ।
जनशक्ति अभावले नाकामा स्थापना गरिएका सहायता कक्ष ‘हेल्थ डेस्क’ प्रभावकारी बन्न सकेका छैनन् । कर्मचारी कमीले हेल्थ डेस्कमा दिउँसो मात्र चेकजाँच हुने गरेको छ । कर्णाली प्रवेश गर्ने व्यस्त नाका बबईमा सबैभन्दा धेरै कर्मचारीको समस्या देखिएको छ । “डेस्कमा पाँचजना कर्मचारीलाई बिहान ६:०० देखि बेलुका ६:०० बजेसम्म चेकजाँच गरिरहेका छौँ,” सिअहेब रामप्रसाद भण्डारीले भन्नुभयो, “कर्मचारी अभावले एउटै मात्र डेस्क हुँदा यात्रुलाई लामो लाइन बस्नुपर्ने बाध्यता छ ।”
सामाजिक विकासमन्त्री दल रावलले सबै नाकामा कर्मचारीको व्यवस्थापन गरेर चौबिसै घण्टा सेवा दिने तयारी भइरहेको बताए । बबई हेल्थ डेस्कलाई दुई ठाउँमा विस्तार गर्ने उनको भनाइ छ ।