ओखलढुंगा, चैत ६ : ओखलढुंगामा लामो झोलुंगे पुल बनाउन सम्भाव्यता अध्ययन गरिएको छ । सिद्धिचरण नगरपालिकाको रुम्जाटार र चिशंखुगढी गाउँपालिकाको माम्खालाई जोड्ने गरी करिब ६०० मिटर भन्दा लामो झोलुंगे पुल बनाउन सम्भाव्यता अध्ययान गरिएको हो ।
प्रदेश नम्बर– १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको पहलमा स्थानीय पूर्वाधार विकास विभागका सिनियर डिभिजन इञ्जिनीयरसहितको टोलीले स्थलगत रुपमा पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरेको हो । आफूहरूले हेरेर फर्किएको थप प्राविधिक टोली पठाएर त्यसको लागत र प्रभावसहितको विस्तुत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर पुल निर्माण गरिने स्थानीय पूर्वाधार विकास विभागका सिनियर डिभिजन इञ्जिनीयर माधव भट्टराईले जानकारी दिए ।
‘हाम्रो एउटा विशेष टोलीले हेरेर फर्कियो । सम्भावना राम्रै देखिएको छ । अब प्राविधिक पठाएर नापजाँच गरेपछि डिपिआर बनाएर कार्यक्रममा समेट्छौं’, भट्टराईले भने,‘६०० मिटर भन्दा लामो हुने देखियो, त्यहाँ पुल बन्यो भने त्यो एशियाकै लामो र ऐतिहासिक पुल हुनेछ ।’ उनका अनुसार नेपालमा सबै भन्दा लामो ५६७ मिटरको पुल बागलुङ जिल्लामा निर्माणाधीन अवस्थामा छ ।
‘स्मार्ट सिटी’ र मितेरी पुल पर्यटकको रोजाइँमा पर्नेछ : राज्यमन्त्री
प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री गुरुङले रुम्जाटार ‘स्मार्ट सिटी’ र माम्खा जोड्ने मितेरी पुलले पर्यटकको आकर्षण बढाउने बताए । प्रदेश सरकारले रुम्जाटार ‘स्मार्ट सिटी’ बनाउने काम थालिसकेकोले त्यही ठाउँमा दुई गाउँ जोड्ने ऐतिहासिक पुल निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने आफ्नो लक्ष्य रहेको उनले बताएका हुन् । पर्यटनको प्रचुर सम्भावना भएर पनि पूर्वाधार विकास नहुँदा ओझेलमा परेको ओखलढुंगालाई पर्यटकको पहिलो गन्तव्यका रुपमा विकास गर्ने उनले बताए ।
‘सेवा र सन्तुष्टिको खोजीमा जिल्लावासी बाहिरिने क्रम रोक्न मैले चुनाव बेला नै रुम्जाटारमा स्मार्ट सिटी बनाउछु र सम्भावना बुझेर पर्यटनका क्षेत्रमा अरु उल्लेख्य काम गर्छु भनेको थिए’, ओखलढुंगाका सांसदसमेत रहेका राज्यमन्त्री गुरुङले भने,‘प्रदेश सरकारको प्रमुख योजनामा यो परिसकेको छ, स्मार्ट सिटी निर्माणको त काम नै शुरु भइसक्यो, यो पुलको पनि सम्भाव्यता हेरियो अब बजेट व्यवस्थापन गरेर काम थालिन्छ ।’
रुम्जाटारमा बन्ने ‘स्मार्ट सिटी’ को डिपिआर बनाउन मात्रै प्रदेश सरकारले एक करोड रकम विनियोजन गरिसकेको छ । त्यो बजेटबाट डिपिआरसहित ‘स्मार्ट सिटी’ का आधारभूत आयोजना शुरु भएका छन् । बजार व्यवस्थापन, ढल तथा सडक सुधारलगायतका काम गर्न प्रदेश सरकारले क्रमागत योजनामा राखेर बजेट विनियोजन गरेको र पुल निर्माणका लागि आगामी वर्ष बजेट व्यवस्थापन गरिने राज्यमन्त्री गुरुङले बताएका छन् । पुल निर्माणपछि स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने, बञ्जी जम्पसहितका प्याकेज सञ्चालन गरेर पर्यटक तान्न सकिने जनाइएको छ ।
स्थानीयवासी उत्साहित
रुम्जाटार पूर्वी पहाडको एक समथर भू–भाग भएको ठाउँ (टार) हो । गुरुङ समुदायको बाहुल्यता रहेको रुम्जाटार भेडाको उनबाट बनाइने राडीपाखीका लागि चर्चित मानिन्छ । पछिल्लो समय लाहुर जाने जागिर खाने र सुविधा सम्पन्न शहरमा बसोबास गर्ने बढे पनि ‘स्मार्ट सिटी’ र त्यससँगै जोडेर मितेरीपुल बनाउने अवधारणाले सबैलाई लोभ्याएको चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए । सुविधाको खोजिमा हिँडेका गाउँमा ‘स्मार्ट सिटी’ र मितेरी पुल बने गाउँ फर्किने सम्भावना रहेको उनको भनाइ थियो ।
‘साँच्चिकै स्मार्ट सिटीको अवधारणा अनुसारको काम भए र सेवा सुविधा त्यहाँ भए स्वर्ग जस्तो हावापानी पाइने ठाउँमा जो पनि फर्कन्छ, यो पुल आवतजावतका लागि भन्दा पनि पर्यटक भित्र्याउने काममा जोड दिनुपर्छ’, उनले भने । सम्भाव्यता अध्ययनका लागि आएको विज्ञसहितको सरकारी टोलीसँग स्थानीयवासीले मितेरी पुल निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेकपाका नेता नानीबाबु बुढाथोकीले राज्यमन्त्री गुरुङको सक्रियताले ओखलढुंगामा नसोचेका विकास आयोजना भित्रिएको बताए । ‘स्मार्ट सिटी होस् वा यति लामो मितेरी पुल यो धेरैले कल्पना गरेको भन्दा बाहिरको विकास आयो, यसले जिल्लाको परिचय बदलेको छ’, बुढाथोकीले भने ।
पूर्व सांसद हर्कबोल राईले ग्रामीण सडकको स्तरोन्नतिमा ध्यान दिन आग्रह गरे । दिगो विकास अबको आवश्यकता भएकाले पर्यटन प्रवद्र्धनका लागि पनि ग्रामीण सडकलाई दिगो बनाउनुपर्ने उनको भनाइ थियो ।