कालीनदीमा पुल पुनःनिर्माण शुरु
बिहिबार, चैत ०६, २०७६ मा प्रकाशित

तानसेन, चैत ६ : कालीगण्डकी नदीको रामपुर नगरपालिका वडा नं ६ प्याक्लुकघाट तथा चापाकोट नगरपालिका वडा नं ८ दामाचौरमा पक्की मोटरेवल पुल निर्माण कार्य शुरु भएको छ । प्राविधिक कमजोरी देखाउँदै लामो समयसम्म निर्माण थालेर रोकिएको पुलको डिजाइन परिवर्तन गरेर निर्माण कार्य थालिएको हो ।

 

पुलमा कालीगण्डकीको पाल्पातर्फ १६ तथा स्यांजातर्फ १६ गरी ३२ वटा खम्बा रहनेछन् । आगामी २० महिनामा निर्माण सम्पन्न गरिने पुल एक महिनाअघि ठेक्का सम्झौता भएर चैतको पहिलो साता निर्माण कार्य शुरु भएको हो । पुल उपभोक्ता समितिका अध्यक्ष गोपालप्रसाद भण्डारीले लामो समयसम्म विविध कारणले रोकिएको पुल निर्माण कार्य अब दु्रत गतिमा हुने जानकारी दिए ।

 

करिब १८ करोड छ लाखमा निर्माण गरिने पुलको इलाइट जेभिए प्राली काठमाडाँैले निर्माणको जिम्मा पाएको छ । पाल्पातर्फको केही काम थालिए पनि पुल निर्माणको काम बीचमै रोकिएको थियो । विसं २०६८ मा ठेक्का सम्झौता भई २०७१ असार मसान्तभित्र निर्माण सम्पन्न हुनुपर्ने निर्माण कार्य लामो समयसम्म रोकिएर पुनःनिर्माणले गति लिन थालेको छ । एक सय ८१ मिटर लम्बाइ रहेको दुईतर्फी मोटरेवल पक्की पुल निर्माण कार्य शुरु भएपछि यस क्षेत्रका नागरिक खुशी भएका छन् ।

 

धेरै वर्षसम्म पुलकै अभावमा लामो घुमाउरो बाटो प्रयोग गरेका नागरिक छिट्टै निर्माण कार्य सकिने र यस क्षेत्रबाट पोखरा, स्यांजा आवातजावतमा सहज हुने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर