जाग्दै महिला, भाग्दै कुरीति
मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित

३०मंसिर -जुम्ला कनकासुन्दरी गाउँपालिका ६ की एकमाया हमाल बालविवाहविरुद्धको अभियानमा निरन्तर लागेकी छिन्। उनी बालविवाह गर्दा स्वास्थ्यमा हुने हानी र जीवनमा भोग्नु पर्ने समस्याका बारेमा सुझाउँछिन्। महिनामा एक दिन उनी बालविवाह जस्ता समाजमा हुने सबै प्रकारका कुरीति अन्त्य गर्नकै लागि छुट्याउँछिन् । गाउँगाउमा पुगेर भन्छिन्,‘ कुरीतिका कारण समाजमा हिंसा फैलंदो अवस्थामा छ। परिवर्तित समयको वेगसंगै हाम्रो मानसिकतामा पनि परिवर्तन ल्याउन जरुरी छ। रुढिगत समाजले जन्माएका नकरात्मक पाटा पक्ष केलाएर पन्छाउन जरुरी छ।’

एकमाया एक उदाहरण मात्र हुन्। अहिले कनकासुन्दरी गाउँपालिकामा उनी जस्तै महिलाले १ सय ११ समूह बनाएर कुरीतिविरुद्धको अभियान नै चलाएका छन्। पहिले गाउँमा सभा सम्मेलन हुँदा परिचय दिन कठिन हुन्थ्यो, एकमायाले भनिन्,‘अहिले निर्धक्क भएर परिचय दिन्छौँ। समूहमा नियमित बैठक बस्छौँ। अन्यायपूर्ण क्रियाकलापका विरुद्धमा आवाज उठाउन थालेका छौँ। यहाँका महिलाको अहिले साहस बढेको छ।’

गाउँमा महिला सक्रिय हुन थालेपछि गाउँभित्र हुने विकृतिजन्य क्रियाकलाप हट्दै जान थालेका छन्। पहिलो चरणमा साझासवालमा एक हुन सिक्यौँ। सार्वजनिक कार्यक्रममा बोलचाल गर्न थाल्यौँ। एकता नै बल हो भन्ने सन्देश प्रवाह गर्न सफल भइसकेका छौँ, एकमाया भन्छिन्,‘पुरुष प्रधान समाज महिलाको एकताले झस्किदै जान थालेको छ।’

यहाँका महिला पुरुषले महिला माथि गर्ने अन्यायका बारेमा मात्र वकालत गर्दैनन्। महिलाले महिला माथि गर्ने अन्यायको बारेमा समेत आवाज उठाउँछन्। कनकासुन्दरी गाउँपालिका ३ की गौकला कामीले भनिन्,‘पुरुषबाट अधिकाँस महिला हिंसामा परेका छन्। तर महिलाबाट केही पुरुष मात्र। महिला पुरुष दुबैलाई हुने अन्यायका बारेमा बोल्न थालेका छौँ। कसैलाई न्याय दिने सवालमा अन्यायमा पर्न पनि दिँदैनौं।’महिलाले गाउँमा बालविवाह, बहुविवाह रोक्न थालेका छन्। घरेलुहिंसा गर्न हुँदैन भनेर गाउँमा छलफल गर्न थालेका छन्। उनले भनिन्,‘घरेलुहिंसाको बारेमा न्यायिक निकायामा उजुरी गर्न सक्ने भइसकेका छौँ।’ श्रीमानले श्रीमती कुटपिट नगर्ने, श्रीमतीले श्रीमानको आदार सम्मान गर्ने विषयमा समूहमा छलफल हुने गरेको छ। बहुविवाह गर्दा नागरिकता बन्दैन। विवाह दर्ता हुँदैन। त्यसलै बहुविवाह गर्नु हुँदैन भन्ने सन्देश दिन थालिएको छ। गाउँमा हुने सबै प्रकारका विवादको निरुपण समेत महिलाले गर्न थालेका छन्। लकडाउने विकृति निम्त्यायो,‘एकमायाले थपिन्,‘पुरुष जुवातास खेल्न थाले। क्यारेमबोर्ड खेल्न थाले। मदिरा सेवन गरेर अशान्ति सिर्जना गर्न थाले। स्थानीय सरकारसंग मिलेर प्रहरीमा साँझेदारी गरेर अभियान चलाउन थालेका छौँ। आफ्नो घरायसी काम त्यागेर भएपनि सामाजिक कार्यमा अग्रसर हुन थाल्यौँ।’

योसंगै गाउँमा हुने विकास निर्माणका क्रियाकलापमा समेत सक्रिय सहभागिता जनाउन थालेका छन्। धारापधेरा बिग्रको बनाउँछौँ। बाटोघाटो सरसफाइ गर्छौ। हरेक महिना बचत गरेर रकम जम्मा गर्छौँ।

आइएनएफ जुम्लाका प्रमुख अभिसेक विकले पछिल्लो समयमा यहाँका महिला अधिकार खोज्ने अभियानमा सक्रिय हुन थालेको बताउँछन्। जबसम्म सम्पत्तिमाथि महिलाको समान हक हुँदैन। तबसम्म महिलाले शान्तिको अनुभूति गर्न पाउने छैनन्। प्रमुख विकले थपे,‘अधिकार खोज्ने र कर्तव्य पालना गर्ने कार्यमा यहाँका महिला अग्रसर छन्। हरेक दिन १५ घण्टा काममा खटिने महिला एक दिन समाजको लागि छुट्याउन थालेका छन्। आयआर्जनका क्रियाकलाप प्रत्यक्ष संलग्न हुन थालेका छन्।’

हरेक महिनामा कार्ययोजना बनाउँछन्। कार्ययोजना अनुसार मासिक रुपमा हुने कामको बारेमा निक्र्यौँल गर्छन्। बैठक बस्दा हात नधोएर सभागिता हुन नदिने नियम बनाएका छन्। स्कुल नजाने बालबालिकालाई स्कुल जना प्रेरित गरेका छन्। विपन्न बालबालिकालाई रकम संकलन गरेर शैक्षिक सामग्रीको व्यवस्थापन गर्छन्। गाउँपालिका भरी ५ वटा मुल समिति बनाएका छन्।

आइएनएफको पावर परियोजना अन्र्तगत महिलाले गाउँगाउँमा समूह निर्माण गरेका छन्। हरेक समूहमा पुरुष पनि सहभागी छन्। विकास निर्माणका हरेक क्रियाकलापमा समान हक खोज्न थालेका छन्। उपभोक्ता समितिमा अध्यक्ष र सचिवमा दावी गर्न थालेका छन्। विकास निर्माणमा हुने अनियमितताको पर्दाफास गर्छन्। बिल भरपाइ मागेर छानबिन गर्न सक्ने भइसकेका छन्।

तिला गाउँपालिकाकी उपाध्यक्ष महिला नेतृ बिष्णु बुढाले महिलाले उदाहरणीय कार्य गरेको बताइन्। उनले भनिन्,‘गाउँको विकासमा महिलाले गरेको कार्यको जति प्रशंसा गरेपनि पुग्दैन। त्यो एक नमुना काम हो।’ सर्बोदय नेपालका प्रमुख कमल खत्री समाज विकासमा महिलाको नेतृत्वदायी भुमिका देख्न पाइएको बताए। उनले भने,‘कर्णाली जस्तो दुर्गम क्षेत्रका महिलाले राज्यलाई चुनौति दिने खालको काम गर्नु कम चुनौतिको विषय होइन। यहाँको महिलाको क्षमता अभिबृद्धिमा स्थानीय सरकारले ध्यान दिनुपर्छ।’

गाउँपालिकामा महिलाहरु हक अधिकारका विषयमा छलफल गर्न पटक पटक आउने गरेको कनकासुन्दरी गाउँपालिकाले जनाएको छ।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर