माघ२४(फरक समाचार) बैतडी — मधुमेहका बिरामी ५२ वर्षीय बुबा कृष्णानन्द भट्टको दुई महिनाअघि उपचारक्रममा धनगढीमा मृत्यु भएपछि बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागीरथी भट्टका दुःखका दिन सुरु भए ।
दोगडाकेदार–३ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा पढ्ने उनी त्यसपछि घर फर्किनन् । बिहीबार बीभत्स अवस्थामा उनको शव भेटियो । उनको बलात्कारपछि हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले घटना शंकास्पद भए पनि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।
विद्यालय गएकी छोरी बेलैमा घर नफर्केपछि आमाले चिन्ता गरिन् । साँझ अबेरसम्म कुनै खबर नपाएपछि आफन्तले स्थानीय खोचलेक प्रहरी चौकीमा खबर गरेका थिए । बिहीबार दिउँसो विद्यालयबाट फर्कंदै गरेका विद्यार्थीले सडकभन्दा तल शव देखेको बताए । स्थानीय र प्रहरी आएर हेर्दा उक्त शव भागीरथीको भएको खुल्यो ।
विद्यालयबाट फर्कंदा उनको घर पुग्न २० मिनेट पैदल दूरी बाँकी रहेको लवलेक जंगलमा खोचलेक–गिरेगडा ग्रामीण सडकबाट करिब ५० मिटर तल झाडीमा बीभत्स अवस्थामा शव भेटिएको बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए । किशोरीको शरीरमा चोटपटक देखिएको र मृत्यु शंकास्पद रहेको डीएसपी अधिकारीले बताए ।
‘मृत्यु शंकास्पद भएकैले काठमाडौंबाट विशेष प्राविधिक टोली, प्रदेशबाट एसएसपी जनकराज पाण्डेको टोलीसँगै तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा खटिएको छ,’ डीएसपी अधिकारीले भने, ‘पोस्टमार्टम रिपोर्ट आइनसकेकाले यसरी नै भयो भनेर भन्न सकिने अवस्था छैन । शनिबारसम्म मृत्युको कारण थाहा हुनेछ । हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।’
घटना शंकास्पद भएकाले दोषीको खोजी तीव्र पारिएको उनले बताए । शुक्रबार प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याएको छ । प्रहरी स्रोतका अनुसार घटनास्थल नजिकै भागीरथीले प्रयोग गर्ने मोबाइल भेटिएको छ । मृतकको शरीरमा दाँतले टोकेका घाउ र अन्य चोटपटक पनि छन् । कपडा च्यातिएको अवस्थामा फेला परेका छन् । शरीरका भित्री कपडामा रगत लागेको पनि भेटिएको छ । उनले बोकेको झोला पनि सँगै भेटिएको स्रोतले जनाएको छ ।
सनातन माविका प्राचार्य बलदेव नाथले बुधबार भागीरथी बिहान १० बजे विद्यालय आएर २ बजे पढाइ सकिएपछि घर फर्किएको बताए । विद्यालयबाट करिब ७ मिनेटको पैदल दूरीमा रहेको खोचलेक बजारसम्म घरनजिकैका आफन्त विद्यार्थीका साथै आएकी थिइन् ।
बजार पुगेर साथी कपाल काट्न रोकिएपछि उनी एक्लै घरतिर लागेकोसम्म थाहा भए पनि त्यसपछिको अवस्था कसैलाई थाहा नभएको प्राचार्य नाथले बताए । विद्यालयबाट भागीरथीको घर जाने बाटोमा जंगलको केही भाग पर्छ । बाटो एक घण्टा पैदल दूरीको छ । साथीको शव भेटिएपछि विद्यार्थीहरू डराएका छन् । छोरी मृत भेटिएको सुनेबाटै आमा राम्रोसँग होसमा आउन सकेकी छैनन् ।
किशोरीको बलात्कारपछि नै हत्या भएको भन्दै दोगडाकेदारका विद्यार्थी र स्थानीयले शुक्रबार दोषी पक्राउको माग गर्दै प्रदर्शन गरे । उनीहरूले खोचलेकमा नाराबाजी गर्नुका साथै महाकाली लोकमार्गमा चार घन्टा आवागमन अवरुद्ध पारेका छन् ।साभार कान्तिपुर