आत्मनिर्भर बनाउन महिलाहरूलाई ढकिया बुनाई तालिम
बुधबार, चैत २८, २०८० मा प्रकाशित

दिनेश ठाकुर

बर्दिया,चैत २८/आत्मनिर्भर बनाउन महिलाहरुलाई ढकिया बुनाई तालिम दिईएको छ । परम्परागत एक महिने ढकिया बुनाई तालिम बारबर्दिया नगरपालिकामा सम्पन्न भएको हो । बारबर्दिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आर्थिक सहयोग तथा जयमा दुर्गा भवानी सामुदायिक सिकाई केन्द्र बारबर्दिया नगरपालिका–६ बर्दियाको आयोजनामा एक महिने ढकिया बुनाई तालिम सञ्चालन भएको थियो ।

एक महिने ढकिया बुनाई तालिम सोमबार समापन भएको हो । उक्त तालिम फागुन २७ गतेदेखि सुरु भएको थियो । परम्परागत ढकिया बुनाई तालिममा बारबर्दिया नगरपालिकाका १९ जना थारु महिलाहरूको सहभागिता रहेको थियो ।

एक महिनासम्म ढकिया बुन्ने तालिम लिएर आफूलाई आत्मविश्वास जागेको प्रशिक्षार्थी निर्मला कुमारी चौधरीले बताईन् । गाउँ घरमै पाइने कच्चा पदार्थबाटै विभिन्न सामाग्रीहरू बनाउन सकिने उनले जनाईन् ।

आफूले पहिला दश दिने ढकिया बुनाई तालिम लिएर एक महिनासम्मको तालिममा प्रशिक्षकको रुपमा काम गर्न पाएको प्रशिक्षक सरिता कुमारी चौधरीले बताइन् । एक महिनासम्मको तालिममा ढकिया, फुलदानी, मेटबक्स, सुपारीडाला, टोपी, पेनदानी, चटकी, खुत्रुके लगायतका सामाग्री बनाउन सिकाएको उनले जनाईन् ।

बनाएको सामाग्रीमा सफाइको कमी भएको तालिमका संयोजक बालकृष्ण थारुले बताए । अझै यसमा निखारता ल्याउनुपर्ने उनको भनाइ छ । आफूले सिकेको सिप बालुवामा पानी खनाए जस्तो नबनाउन संयोजक थारुले प्रशिक्षार्थीलाई सुनाए । बालुवामा सिमेन्ट मिसायो भने पानी रोकिन्छ त्यस्तै किसिमले आफूले सिकेको सिपको पनि सही सदुपयोग गर्नुपर्ने संयोजक थारुले भनाई राखे ।

एक महिनासम्म ढकिया बुनाई तालिम परम्परागत रहेको ढकियाको विकसित रूपमा सामाग्रीहरू बनाएको जयमा दुर्गा भवानी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष मोहनलाल थारुले बताए । यसरी गाउँ घरमै पाइने कच्चा सामाग्रीबाट बनाएको सामाग्रीहरू बर्दिया राष्ट्रिय निकुञ्जले किनेर पाहुनालाई स्वागत गर्ने साथै देशका विभिन्न ठूला ठूला सहरहरुमा लगेर बेच्न सकिने थारुले सुनाए ।

थारु जातिमा परम्परागत रूपमा रहेको हस्तकलाको सीप बिस्तारै बिस्तारै हराउँदै गइरहेको अवस्था भएकोले यसलाई संरक्षण नगरेको खण्डमा आफ्नो पहिचान पनि बिस्तारै बिस्तारै गुम्दै जाने अंशु वर्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक पोमराज शर्माले बताए । गाउँ घर वरिपरि पाइने कच्चा सामाग्रीबाट सामाग्रीहरू बनाएर आय आर्जन गर्न सकिने प्रअ शर्माले भनाई राखे ।

बनाएको सामाग्रीहरू बर्दिया राष्ट्रिय निकुञ्जले होलसेलमा खरिद गरेर निकुञ्जमा आउने पाहुनाहरूलाई स्वागत गर्ने जयमा दुर्गा भवानी सामुदायिक सिकाई केन्द्रका सचिव इन्द्रबहादुर चौधरीले बताए । आफूले केही दिन अगाडि टोपी लगाएको फोटो खिचेर फेसबुकमा राख्दा २० वटा टोपी र अन्य सामाग्रीको माग भएको उनले सुनाए ।
पछिल्लो समयमा ढकियाको माग देश विदेशमा समेत अत्यधिक बढेकोले यस्ता तालिमहरुबाट सिप सिकेर व्यवहारमा लागु गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ ।

तालिम समापन कार्यक्रममा तालिमका संयोजक बालकृष्ण थारु, जयमा दुर्गा भवानी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष मोहनलाल थारु, सदस्य प्रतिक्षा थारु र अंशु वर्मा माबिका प्रधानाध्यापक पोमलाल शर्मालगायत प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर