बर्दिया,बैशाख ३ (फरकसमाचार)/ बर्दिया राष्ट्रिय निकुञ्जको चुरे क्षेत्रमा डढेलो अनियन्त्रित तरिकाले लागेको छ । एक साता अघि देखि सुरु भएको डढेलो निकुञ्जको समथर भागमा विस्तार भईरहेको देखिन्छ । नेपाली सेना र निकुन्जकर्मी विस्तार भईरहेको डढेलो नियन्त्रणका लागि परिचालित भएको निकुन्जले जनाएको छ ।
निकुन्ज भित्रको पूर्व पश्चिम राजमार्गको रम्बापुर देखि सैनावार सम्म चुरेक्षेत्रबाट फैलिएको डढेलो लागेको ठाउँ ठाउँमा देखिएको छ । रम्बापुर देखि सैनावर सम्म सडक आवागमन गर्दा छिटफुट ठाउँमा डढेलो लागिसेकेको चालक राम सुन्दर थारुले बताए । ‘राजमार्गको उत्तर तर्फ डढेलो सल्किएको देखिन्छ,’उनले भने,‘राजमार्ग भएकाले दक्षिण तर्फ डढेलाले विस्तार गर्न सकेको छैन ।’
डढेलो विस्तार भएसँगै वन्यजन्तु लगायत आहारा प्रजाति नष्ट हुने जोखिम बढ्छ । निकुन्ज भित्र जताततै एक पटक डढेलो सल्कदा वन्यजन्तुको अकालमा ज्यान जाने सक्ने निकुन्ज कर्मचारी वताउँछन् । डढेलो राप सहन नसक्दा वन्यजन्तु वस्ती तर्फ जाने अर्को जोखिम हो । तर,निकुन्जमा समान्य प्रकृतिको डढेला लाग्ने भएकाले ठूला वन्यजन्तुलाई जोखिम नहुने उल्लेख गर्दे घस्रिने प्रजातिका जनावर डढेलाबाट प्रभावित हुन सक्ने निकुन्जका प्रबक्ता आशिष न्यौपानले बताए ।
निकुन्ज भित्र डढेलो लाग्ने मूख्य जोखिम चैत महिना देखि बैशाख सम्म हो । उनका अनुसार चुरे क्षेत्रमा डढेलो अनियन्त्रित भएपनि समथर भुभागमा डढेलो विस्तारको क्रममा रहेको छ । ‘चुरे क्षेत्रमा डढेलो नियन्त्रण असम्भव जस्तै छ’उनले भने,‘समथर भूभागमा डढेलो नियन्त्रणका लागि निकुन्ज प्रशासन सर्तक छ ।’ बिभिन्न किसिमका डढेलोको प्रकार भएपनि निकुन्ज भित्र पातबाटै सल्केर आगो लाग्ने न्यौपानेले जानकारी दिए । उनका अनुसार निकुन्ज भित्र लाग्ने डढेलोलाई सर्चिङ र किपिङ नाम दिईएको छ । यस्तो डढेलो नियन्त्रणमा त्यति धेरै समस्या नआउँने सूचना अधिकारी न्यौपाने बताउँछन् ।
सेना वा निकुन्जका पोष्ट नजिकका ठाउँमा निकुन्जका कर्मचारीले डढेलो विस्तार गर्न नदिनका लागि सर्तकता अपनाइएको उनले जानकारी दिए । डढेलोको बिषयमा नियमति अनुगमन देखि नियन्त्रणका प्रयासका लागि कर्मचारी खटिएका छन् ।
‘निकुन्ज भित्र फायर लायन बनाएका छौ,’उनी भन्छन्‘निकुन्ज डढेको सम्भावित जोखिम ठाउँमा झाडी सफाई र सरसफाई गरेर डढेलो रोक्ने प्रयास जारी छ ।’ बैशाख महिनामा डढेलोको जोखिम रहेकाले निकुन्ज सम्बद्ध संघ,संस्था लगायत नेचर गाईडलाई स्वतस्फुर्त रुपमा डढेलो नियन्त्रणका लागि योगदान गर्न निकुन्ज प्रशासन आह्वान गरेको उनले जानकारी दिए ।