मुम्बईमा होर्डिङ भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते
मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित

मुम्बई,जेठ १ / मुम्बईमा सोमबार आएको आँधी र वर्षाका क्रममा ठुलो होर्डिङ बोर्ड भत्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । दुर्घटनामा करिब ६० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाटकोपर (इ) क्षेत्रको समता कोलोनीमा रहेको रेलवे पेट्रोल पम्प नजिकै राखिएको होर्डिङ बेलुका ४ः३० बजे एक्कासि आएको भीषण हावाहुरीले खसेको हो । यो ७०x५० मिटर ठुलो थियो। अधिकारीहरूका अनुसार यो होर्डिङ पेट्रोल पम्पमा खसेको थियो जहाँ पानी र हावाहुरीका कारण ठुलो सङ्ख्यामा मानिसहरू ओत लागेर बसिरहेका थिए ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै दुर्घटनाका एक प्रत्यक्षदर्शीले भने, ‘त्यहाँ आँधी चलिरहेको थियो।  धेरै पानी परिरहेकाले हामीले कार साइडमा पार्क गर्‍यौँ। हामी केही बेर बसेका मात्र थियौँ, त्यही बेला एक्कासि बोर्ड खस्न पुग्यो । त्यसमामा दुई पाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनसहित धेरै जना च्यापिए ।’

राज्यका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनास्थलको निरीक्षण गरेपछि दुर्घटनामा घाइते भएका बिरामीलाई भेट्न अस्पताल पुगेका थिए । उनले मुम्बईका सबै होर्डिङको विशेष संरचनात्मक लेखा परीक्षण गरिने बताए।  शिन्देले भने, ‘दुर्घटनाका लागि जिम्मेवार व्यक्तिमाथि कर्तव्य ज्यान मुद्दा चलाइनेछ ।’  उनले मृतकका परिवारलाई तत्काल ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा समेत गरेका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर