युवाहरुलाई क्षमता विकास तालिम
शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित

सपना बिक

बर्दिया,असार ७/ बढैयातालका किशोर किशोरीहरुलाई दुई दिने उद्घोषण तथा क्षमता विकास तालिम दिईएको छ । बढैयाताल गाउँपालिका, कालिका सामुदायिक पुस्तकालय र टिएनएफएमडिजिको सहकार्य र युवा गोचाली क्लवको आयोजनामा किशोर किशोरीलाई उद्घोषण तथा क्षमता विकास तालिम दिईएको हो । मंगलबार र बुधबार तालिम संचालन भएको थियो ।

युवा गोचाली क्लवका अध्यक्ष सिद्वान्त थारूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि बढैयाताल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, अतिथिमा युवा गोचाली ब्लवको संस्थापक अध्यक्ष बजारू चौधरी, टिएनएफएमडिजिका अध्यक्ष एवम् प्रशिक्षक प्रेम विश्वकर्मा र बढैयाताल गाउँपालिकाको नमुना युवा संसदका अध्यक्ष स्वातिका खड्का सहितको उपस्थित रहेको थियो ।

कार्यक्रममा युवाहरूको सक्रिय सहभागिता रहेको थियो । यस उद्घोषण तथा क्षमता विकास तालिमको मुख्य उद्देश्य सहभागीहरूको व्यक्तिगत क्षमता विकास गर्न, व्यक्तिमा निखरता ल्याउन, सक्षम, तत्पर र उत्तरदायी बनाउनु हो । कार्यक्रममा युवाहरूलाई अभ्यास गराएर प्रयोगात्मक तरिकाले उद्घोषण सम्बन्धी ज्ञान सीप सिकाईएको थियो । साथै अहिलेको वर्तमान अवस्थालाई मध्यनजर गरी युवाहरूलाई इन्टरनेटको प्रयोगको बारेमा पनि तालिम प्रदान गरिएको थियो । जसमा इन्टरनेटबाट हुने हिंसाहरू प्रयोगात्मक तरिकाले प्रदर्शन गरिएको थियो ।

हामी युवाहरू जहाँ बसेर काम गरे पनि व्यक्तिभित्र रहेको कला प्रस्तुत गर्नुपर्ने गोचली क्लबका निवर्तमान अध्यक्ष बजारु थारुले बताए ।
युवा भनेका भविष्य होइनन् वर्तमानका साझेदार हुन् त्यसैले आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माण गर्दा युवाका लागि बजेट छुटाउन पालिकासंग युवा संजालकी अध्यक्ष स्वस्तिका खड्काले माग गरिन् ।

युवाहरू लक्ष्य उद्देश्य प्राप्तिमा अघि बढि सकेपछि मात्र बिवाह गर्ने सोच्नु राख्नु पर्ने बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । उद्घोषण तालिममा कृष्ण राम थारु, सिद्धान्त चौधरी र प्रेम विश्वकर्माले शाहजीकरण गरेका थिए ।

कार्यक्रममा बढैयाताल गाउपालिकाका वडा नंम्बर २,४,६,७,८,९ का गरि ३० जनाको उपस्थिति रहेको थियो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रशासकीय अर्जुन सुवेदीले सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । समापन कार्यक्रम प्रशिक्षार्थी तुलसि दमाई र कपिल परियारले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय