‘सरकारले हामीलाई अझै कमैया बनाएर राखेको छ’
शुक्रबार, असार १५, २०८१ मा प्रकाशित

बर्दिया,असार १४(फरकसमाचार)/ मुक्त कमैया घोषणा भएको २४ वर्ष बित्यो तर स्थिती पहिलाकै अवस्थामा छ । मुक्त कमैयाहरुले लामो समय देखि संघर्षमा होमिदाँ पनि सरकारले व्यवस्थापन गर्न नसकेको कमैयाहरुको व्यापक गुनासो छ । राज्यले बेवास्ता गर्दा मुक्त कमैयाहरुको उद्दार नभएको अभियानकर्ताहरुले प्रतिक्रिया दिन्छन् ।

सरकारले मुक्त कमैया घोषणा गरेको लामो समय बितिसक्दा पनि समस्या ज्यु को त्यु हुनु दुखद हो । मुक्त कमैया घोषणा भएपछि मालिकबाट मुक्त भयो तर, सरकारले हामीलाई अझै कमैया बनाएको बाँसगढी नगरपालिका–९ बसन्ताकी अस्तुरी थारुले बताईन् । ‘अहिले हामी साहु मालिकबाट मुक्त छौं,’उनले भनिन्,‘तर सरकारले हामीलाई कमैया बनाएर राखेको छ ।’

सरकारले हामीलाई व्यवस्थापन गर्ने नाममा जग्गा उपलब्ध गराएको छ तर, त्यो जग्गामा झमेला छ । कति ले सहजै उपभोग गरेका छन् भने कतियौं कमैयाको जग्गा वन जंगल, नदी नालामा छन् जसले गर्दा उपभोग गर्ने अवस्था छैन । हामीलाई एमेरजेन्सी दुःख बिरामी पर्दासमेत पाएको त्यो जग्गालाई धितो राखेर काम चलाउने स्थिती राज्यले दिएको छैन । यसरी हामी मुक्त कमैयालाई सरकारले कमैया बनाएर राखेको थारुले धारणा राखिन् ।

मुक्त कमैयाको हक हित र उद्दारको लागि सबै कमैयाहरु एकजुट भएर अघि बढ्न सहभागीहरुले सुझाएका छन् । एक्सनएड नेपालको साँझेदारीमा कमैया महिला जागरण समाज नेपालद्वारा जिल्लाको चार पालिकामा संचालित कृषिमा आधारित बँधुवा श्रमको अन्त्य परियोजनाका जिल्ला स्तरिय सिकाई आदान प्रदान कार्यक्रममा शुक्रबार सम्पन्न भएको छ ।

राजापुर, बाँसगढी नगरपालिका, गेरुवा र बढैयाताल गाउँपालिकामा विगत तीन वर्ष देखि कृषिमा आधारित बँधुवा श्रमको अन्त्य परियोजना संचालन भएको परियोजना अधिकृत राजेन्द्र प्रसाद थारुले बताए । तीन वर्षको अवधिमा मुक्त कमैया संगठन सुद्धिढिकरण, कमैयाको हकहितको नीति निर्माण पैरवी गर्ने, उनीहरुको जिविकोपार्ज र शिक्षामा सघाँउ पुग्ने उदेश्यले परियोजना काम गरेको जनाए । जिल्लाको आठ वटै पालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा मुक्त कमैयालाई सम्बोधन गरेको पाईएको सुनाए ।

कमैया महिला जागरणद्वारा संचालित परियोजनाले मुक्त कमैयाहरुको लागि धेरै राम्रो काम गरेको राजापुर नगरपालिका–४ संघर्ष नगरका खुसीराम थारुले बताए । ‘परियोजनाले कमैयाहरुको बालबच्चालाई प्राविधिक शिक्षा पढाउन सघाँएको छ,’उनले भने,‘त्यसैगरि बेरोजगारलाई रोजगारी दिएको छ ।’ परियोजनाले सिलाई कटाई, भैंसी पालन, तरकारी खेतीलगायत व्यवसाय गर्न सहयोग पु¥याएको उनले सुनाए ।

कार्यक्रममा कमैया महिला जागरण समाजकी अध्यक्ष बिरुणी थारु, लुम्बिनी प्रदेश सांसद राजकुमार थारु, लुम्बिनी प्रदेशकी पुर्व उपसभामुख कृष्णी थारु, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी, बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, राजापुर नगरपालिकाकी उपाध्यक्ष मनकला कुमारी चौधरी, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठलगायत मुक्त कमैयाहरुको उपस्थिती रहेको थियो । जिल्ला स्तरिय सिकाई आदान प्रदान कार्यक्रम कमैया महिला जागरण समाज नेपालका कार्यक्रम संयोजक रमेश चौधरीले संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय