रोपाईको बेला किसानलाई सधैं मलको समस्या
सोमबार, असार १८, २०८१ मा प्रकाशित

बर्दिया, असार १७ (फरकसमाचार)/ आधा असार गईसकेपछि शनिबार पानी प¥यो । यस क्षेत्रमा आकाशे पानीको भरमा किसानहरु खेती गर्छन् । खेतीपाती लागउने सिजनमा आकाशे पानी प¥यो भने किसानहरु उत्साहित हुन्छन्, तर त्यस्तो देखिएन । किसानहरु यतिबेला निकै तनावमा देखिन्छन् । समयमा वर्षात नहुँदा किसानहरु बोरिङ मोटरको सहारामा बल्ल तल्ल धानको बिउ तयार गरेका छन् ।

बिउ तयार भएर रोपाई गर्ने बेलामा मलको जोहो गर्दै किसानहरु भौतारिरहेको देखिन्छन् । खेतीपाती गर्ने सिजनमा सधैं रासायनिक मलको अभाव खड्किन्छ र चर्चाको विषय बन्छ । तर यो समस्यालाई सम्बन्धित निकायले समाधान गर्न कुनै ठोस कदम चालेको पाइदैन । मलको अभाव हुदैन भनेर जति आश्वासन दिएपनि अधिकांश किसानले मल नपाएको तितो यर्थाथ हो ।

कुनै सहकारीमा मल आएको भनक पाउँदा तछाड मछाड गर्दै बिहानबाटै किसानहरु लाईनमा बस्नु पर्ने बाध्यता छ । तर पनि मल पाउने स्थित छैन । सहकारीलाई भाग परेको थोरै मलले किसानहरुको माग पुरा गर्न सकेको छैन । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको तथ्यांक अनुसार जिल्लामा ५० हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

 

खेतीको समयमा मल नपाएर भौतारिनु पर्ने अवस्थाले किसालाई निरुत्साहित बनाएको गुलरिया ८ का रमेश गोडियाले बताए । ‘हाम्रो सरकारले समयमा किसानलाई मल पनि उपलब्ध गराउन सकेको छैन,’उनले भने,‘पारी भारतबाट एक दुई बोरी मल ल्याउँदा समेत जफत गर्छ ।’

कृषि कार्य गर्न सरकारले सहज वातावरण नबनाउँदा युवा पुस्ता कृषि तर्फ आकर्षित नभएको गुलरिया नगरपालिका–११ का रामु यादवले बताए । ‘खेतमा मल नहाले उब्जनी हुदैन,’उनले भने,‘उब्जनी गर्न नसके परिवार कसरी पाल्ने चिन्ता छ ।’

तोकिएको कोटा अनुसार मल आईरहेको र वितरण भईरहेको कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय गुलरियाका प्रमुख लाल बहादुर थारुले बताए । ‘पालिकालाई भाग परेको मल सहकारी मार्फत दिएका छौं,’उनले भने,‘आठ वटै पालिकामा मल गईरहेको छ ।’ गुलरियाको लागि २७ वटा सहकारी मार्फत जेठ १५ र असार ५ गते गरि १ सय २५ मेट्रिक टन २ हजार ५ सय ३ बोरी डिपी गएको छ ।

त्यसैगरि माघ देखि अहिलेसम्म ३ सय ३३ मेट्रिक टन युरिया मल गएको शाखा प्रमुख थारुले जनाए । अहिले शाखामा ५ सय ६३ मेट्रिक टन युरिया र १ सय २९ मेट्रिक टन डिपी स्टक रहेको समेत जनाए । अन्य वर्ष भन्दा यस वर्ष राम्रै मल आएको छ । मलको त्यति चर्को अभाव नहुने शाखाका प्रमुख थारुले दावी गर्छन् ।

लुम्बिनी प्रदेश सरकारले तोकेको कोटा अनुसार मल आईरहेको सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले बताए । ‘आएको मल कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ्ग मार्फत वितरण भएको छ,’सहायक प्रजिअ कठायतले भने,‘प्रदेशले तोकेको कोटा अनुसार मल आएको छ, वितरण पनि भएको छ जुन किसानलाई प्रयाप्त छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय