बर्दिया अस्पतालको ओसिएमसीमार्फत २ सय महिला लाभान्वित
बिहिबार, असार २१, २०८१ मा प्रकाशित

बर्दिया,असार २०(फरकसमाचार)/ बर्दिया अस्पताल द्वारा संचालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले लैङगिक हिंसामा परेका २ सय महिलालाई निःशुल्क सेवा दिएको छ । अस्पतालको ओसिएमसीद्वारा बुधबार आयोजित वार्षिक समिक्षामा लैङगिक हिंसामा परेका २ सय पिडित महिलालाई सेवा दिएको तथ्यांक सार्वजनिक गरिएको हो । ओसिएमसीले हिंसा पिडितहरुलाई उपचारको साथै उचित व्यवस्थापन गरि लैङ्गिक हिंसा नियन्त्रणमा योगदान पु¥याउने उदेश्यले काम गरिरहेको छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ४७, दोस्रो चौमासिकमा ८८ र तेस्रो चौमासिकमा ६५ जना गरि २ सय जनाले ओसिएमसिमाफर्त सेवा लिएको बर्दिया अस्पताल ओसिएमसिकी सम्पर्क व्यक्ति तथा मनोसामाजिक परामर्श कर्ता सपना बाठा मगरले सार्वजनिक गरिन् । रेप केसमा परेका पिडितहरु ओसिएमसिमा ढिलो आउने हुनाले चेकजाँचमा समस्या र ओसिएमसीमा प्रयाप्त जनशक्ति नहुँदा समस्या भईरहेको परामर्शकर्ता मगरले जनाईन् ।

जसमा १ सय ७ जना पिडितहरु आफै ओसिएमसिमा आएको तथ्यांक छ भने प्रहरीबाट ८५, गैरसरकारी कार्यालयबाट २, सेवा केन्द्रबाट २ र हेल्थपोष्टबाट ४ जना आएको ओसिएमसीको रेकर्डले पुष्टि गर्छ ।

लैङगिक हिंसामा परेर ओसिएमसीमा सबै भन्दा बढी गुलरिया नगरपालिकाका सेवाग्राहीले सेवा लिएको तथ्यांकले देखाएको छ । गुलरिया नगरपालिकाका ६९ जना पिडित महिलाले ओसिएमसीमार्फत सेवा लिएका छन् । त्यसैगरि मधुवनका ३१, बारबर्दियाका २३, बाँसगढीका ५, ठाकुरबाबाका ११, राजापुरका १४, गेरुवा गाउँपालिकाका १७ र बढैयाताल गाउँपालिकाका १६ जनाले ओसिएमसीमार्फत सेवा लिएको तथ्यांक छ ।

ओसिएमसीमा बलात्कारका केस ६२, शारीरिक आक्रमण ३८, यौन दुव्र्यवहार ३०, बालविवाह ६६, अधिकार र स्रोतबाट बञ्चित १ र मानसिक रुपमा तनाव दिएको २ र अन्यमा १ केस आएको देखिन्छ । नेपाल सरकारद्वारा लैङगिक हिंसा पिडितहरुलाई सम्बन्धि सबै कार्यालयहरुको सहयोगमा आवश्यक सबै सेवाहरु पुर्णरुपले निःशुल्क उपलब्ध गराउन ओसिएमसी स्थापना भएको हो ।

चालु आर्थिक वर्षमा अस्पतालको ओसिएमसीले रु १५ लाख बजेट प्राप्त गरेको थियो । जसमा उक्त बजेटमा ओसिएमसीले वर्षभरि २ सय जनालाई प्रभावकारी सेवा दिएको छ । ओसिएमसीले बहुपक्षीय संयोजनद्वारा सेवा प्रदान गर्दै आएको छ । लैङ्गिक हिंसा प्रभावितलाई बहुपक्षीय संयोजन प्रकृयाद्वारा सुरक्षा, स्वास्थ्योपचार, मानसिक एवंम् मनोसामाजिक परामर्श, कानुनी उपचार, आश्रय र पुनस्र्थापनाको सेवा दिएको छ । ओसिएमसिमार्फत जबरजस्ती करणी, कुटपिट र बालविवाह, यौन दुव्र्यवहारलगायतका पिडितहरुले सेवा लिएका छन् ।

लैङ्गिक हिंसामा परेकालाई उपचार, परामर्श, कानुनी राय, पुनस्र्थापनार आश्रयलगायतका काम एकद्वार संकट व्यवस्थापन केन्द्रबाट हुने गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । ‘यसमा बजेट न्यून र ओसिएमसीको अवधारणाले छुन खोजेको क्षेत्र धेरै भएकोले प्रत्येक शिर्षकमा थोरै थोरै बजेट विनियोजन गर्नुपर्ने भएकोले बढी सेवाग्राहीले सेवा नपाएको जस्तो लाग्छ,’प्रजिअ शर्माले भनिन्,‘ओसिएमसीमार्फत यस्तो सेवा पाईन्छ भनेर सचेतनाको कमी भएको जस्तो पनि लाग्छ ।’ स्थानीय तहमा यसको व्यापक प्रचार प्रसार गर्न जरुरी छ र स्थानीय तहमा हिंसा निवारण कोषलाई कार्यान्वयन गर्न आवश्यक रहेको प्रजिअ शर्माले धारणा राखिन् ।

ओसिएमसिको वार्षिक समिक्षामा प्रजिअ रुद्रादेवी शर्मा, अस्पतालका बरिष्ठ मेसु डा.सुभाष पाण्डेय, जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालय, स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी, जिल्ला समन्वय अधिकारी कृष्ण थापा, राधाकृष्ण थारु जनसेवाका अध्यक्ष दिनेश श्रेष्ठ, गुलरिया नगरपालिका महिला शाखाकी प्रमुख शिला शाह, माइती नेपालकी प्रमुख गायत्री रिमाललगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय