न्यायिक समिति र ओसिएमसिलाई प्रभावकारी बनाउन जिल्ला स्तरीय छलफल
बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित

बर्दिया,साउन ३१(फरकसमाचार)/ न्यायिक समिति र एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसिएमसि) को प्रभावकारी न्याय प्रक्रिया झन् प्रगाढ बनाउन जिल्ला स्तरीय अन्तरक्रिया गरिएको छ । एक्सनएड नेपालको साँझेदारीमा कमैया महिला जागरण समाज नेपालद्वारा संचालित स्थानीय अधिकार कार्यक्रमको आयोजनामा न्यायिक समितिका पदाधिकारी, ओसिएमसिका सम्पर्क व्यक्ति र लैङगिक हिंसा सम्बन्धि सरोकार राख्ने सरोकारवालाको उपस्थितीमा बुधबार जिल्ला स्तरीय अन्तरक्रिया गरिएको हो ।

जिल्लाको आठ वटै पालिकामा उप–प्रमुखको संयोजकमा न्यायिक समिति छ । न्यायिक समितिलाई अधिकार भएसम्मको न्याय सम्पादनको कार्य गरिरहेको अवस्था छ । तीन तहकै सरकारको सबै भन्दा नजिकको स्थानीय सरकार हो । जसले गर्दा कुनै घटना हुने बित्तिकै नजिकको स्थानीय सरकारको न्यायिक समितिमा पिडितहरु पुग्ने गर्छन् । न्यायिक समितिमा आएका पिडितहरुलाई कसरी प्रभावकारी न्याय दिने बारेमा अन्तरक्रियामा व्यापक छलफल गरिएको छ ।

न्यायिक समिति र ओसिएमसिले प्रदान गर्ने सेवाको बारेमा तथा न्याय सम्पादन गर्ने क्रममा अपनाईने प्रक्रिया, चुनौती, सिकाई आदिको बारेमा सबै पालिकासंग साँझा धारणाको विकास गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको कमैया महिला जागरण समाज नेपालद्वारा संचालित स्थानीय अधिकार कार्यक्रमका संयोजक रमेश चौधरीले जानकारी दिए ।

बर्दिया अस्पताल द्वारा संचालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले लैङगिक हिंसामा परेका पिडितलाई निःशुल्क उपचार तथा मनोसामाजिक परामर्शको सेवा दिईरहेको छ । ओसिएमसीले हिंसा पिडितहरुलाई उपचारको साथै उचित व्यवस्थापन गरि लैङ्गिक हिंसा नियन्त्रणमा योगदान पु¥याउने उदेश्यले काम गरिरहेको छ । गत आर्थिक वर्षमा ओसिएमसिमार्फत २ सय १० जना पिडितले सेवा लिएको ओसिएमसिकी सम्पर्क व्यक्ति तथा मनोसामाजिक परामर्शकर्ता सपना बाठा मगरले जनाईन् । त्यसैगरि ओसिएमसिमार्फत् न्यायको लागि प्रहरीमा आएका पिडितको न्याय प्रक्रिया अघि बढाउने गरेको जिल्ला प्रहरी कार्यालय महिला सेलकी प्रमुख सरस्वती पौडेलले बताईन् ।

जिल्लाका आठ वटै पालिकाका लैङगिक हिंसामा परेकालाई उद्दार गरि नगरको महिला सफे हाउसमा राखेर सेवा दिने गरेको गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले बताईन् । ‘अन्य पालिकाले सहयोग नगर्दा गुलरियाले एक्लै खर्च व्यहोरेको छ जसले गर्दा गाह्रो भईरहेको छ,’उप–प्रमुख गौतमले भनिन्,‘अन्य पालिकाका पनि पिडितहरु सेवा लिएका छन् थोर थोरै आर्थिक सहयोग गर्दा सहज हुन्छ ।’ गत वर्ष गुलरिया नगरको महिला सेफ हाउसले १ सय ४१ जना पिडितलाई सेवा दिएको उप–प्रमुख गौतमले सुनाईन् ।

जिल्ला र गुलरियाको महिला सेफ हाउसलाई सघाँउनेमा गेरुवा गाउँपालिका, मधुवन र बाँसगढी नगरपालिकाकी उप–प्रमुखहरु सकारात्मक देखिएका छन् ।
कार्यक्रममा ओसिएमसि र न्यायिक समिति सम्बन्धि नागरिक समाज संजालकी संयोजक हेमा सुनारले जानकारी गराएर सहजीकरण गरेकी थिईन् ।

कार्यक्रममा कमैया महिला जागरण समाजकी अध्यक्ष बिरुणी थारु, गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, मधुवन नगरपालिकाकी उप–प्रमुख अनिता चौधरी, बासँगढी नगरपालिकाकी उप–प्रमुख इन्दिरा चौधरी र गेरुवा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, अन्य पालिकाका न्यायिक समितिका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर