एक महिनामा १ सय ३७ जनाले बर्दिया अस्पतालमा लिए प्रसूति सेवा
बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित

बर्दिया, भाद्र ५ (फरकसमाचार) / पछिल्लो समय बर्दिया अस्पतालमा प्रसूति सेवा लिने सेवाग्राहीको आकर्षण बढ्दो छ । पहिला सचेतनाको कमीले घरमै प्रसूति गराउने प्रयास गर्दा गर्भवती महिला र नवजात शिशुहरुको ज्यान जोखिममा हुन्थ्यो । तर, पछिल्लो समयमा अस्पतालमै स्वास्थ्यकर्मीको उपस्थितीमा प्रसूति गराउनुपर्छ भन्ने चेतना फैलिएको छ । अस्पतालमा प्रसूति गराउँदा आमा र जन्मिने बच्चा दुवै सुरक्षित हुने विश्वास गरिन्छ ।

चालु आर्थिक वर्षको साउन महिनामा १ सय ३७ जनाले अस्पतालमा प्रसूति सेवा दिएको बर्दिया अस्पतालका सुचना अधिकारी केशव न्यौपानेले बताए । २० वर्षमुनिका ७ जना र ठ्याक्कै २० वर्ष पुगेका ९ जनाले प्रसूति सेवा लिएको अस्पतालको रेकर्डले पुष्टि गर्छ । पछिल्लो समयमा स्क्रब टाइफसका बिरामी बढ्दै गएको सुचना अधिकारी न्यौपानेले सुनाए ।

‘गएको एक सातामा २७ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको छ,’सुचना अधिकारी न्यौपानेले भने,‘एक महिनामा २ सय ५२ जनालाई जाँच गर्दा ३२ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको छ ।’

त्यसैगरि १ सय ४१ जनाको जाँच गर्दा ८ जनामा डेंगु संक्रमण पोजेटिभ देखिएको छ । एक महिनामा अस्पतालको इमरजेन्सी वार्डले एक हजार एक सय ३९ जना र समग्रमा १० हजार ४ सय ३८ जना सेवाग्राहीलाई अस्पतालले सेवा दिएको अस्पतालको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर