बर्दिया,भाद्र १३ (फरकसमाचार)/ जलवायु परिवर्तनका कारण भविष्यमा जलस्रोतलगायतका क्षेत्रमा प्रभाव पर्ने अनुमान गरिएको छ । नेपालमा जलवायु परिवर्तनको अवस्था तराईका जिल्लाको तुलनामा उच्च पहाडी र हिमाली जिल्लाहरुको तापक्रम तीव्र गतिले वृद्धि भईरहेको अध्ययनले देखाएको हो । तापक्रम बृद्धिले भविष्यमा हिमालको हिउँ पग्लिने उच्च सम्भावना रहेको युएसएआईडि जल जंगल परियोजनाका मुख्य प्रशिक्षक सुदिल गोपाल आचार्यले बताए ।
‘आजभोलि तराईमा पाईने लामखुट्टे हिमालमा पनि भेटिन थालेका छन्,’उनले भने,‘जलवायु परिवर्तनले भविष्यमा समस्या उत्पन्न हुन्छ ।’ भविष्यमा हुने समस्याको बारेमा हामीले अहिलेबाट चिन्ता गर्नुपर्छ । हामीले नजानेर गरेको क्रियाकलापबाट प्रत्यक्ष वायुचक्रमा असर परिरहेको हुन्छ । त्यसैले हामीले वायुचक्रमा असर नपर्ने काम गर्नुपर्ने उनले सुनाए ।
नेपालको लागि जलवायु परिवर्तन हुँदा भविष्यमा हालको तुलनामा निकै गर्मी, चिस्यान हुने, पानी पर्ने दिनमा कमी आउने र अतिवृष्टिका घटनाहरु वृद्धि हुने अनुमान छ । त्यसैगरि जलवायु परिवर्तनले कृषि तथा खाद्य सुरक्षा, जलस्रोत तथा उर्जा, जनस्वास्थ्य, खानेपानी तथा सरसफाई, ग्रामिण तथा शहरी वस्ती पूर्वाधार, वन तथा जैविक विविधता, जलवायु जन्य विपदहरु, पर्यटन, प्राकृतिक तथा साँस्कृतिक सम्पदामा असर पर्ने आँकलन गरिएको छ ।
जलवायु परिवर्तन अनुकूलन तथा जैविक विविधता विषयक समुदाय तहमा सचेतना फैलाइरहेको युएसएआईडि जल जंगल परियोजनाका सहजकर्ता भावुक योगीले जनाए ।
मधुवन नगरपालिका–३ खाता सामुदायिक वन समन्वय समितिको हलमा बुधबार एक दिने सचेतना तालिम सम्पन्न भएको छ । मधुवन नगरपालिका–३ का वडा अध्यक्ष नारायण मल्ल, २ का वडा अध्यक्ष आशाराम चौधरी, ५ का वडा अध्यक्ष दिलिप गुरुङ्ग, खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ्गलगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।