बर्दिया,मंसिर २५(फरकसमाचार)/ एक स्वास्थ्य अवधारणा सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । युएसएआइडीको जल जंगल परियोजनाको आयोजनामा आइतबार ठाकुरद्वारामा एक स्वास्थ्य अवधारणा सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको हो । विश्वमा देखा परिरहेका नयाँ रोगहरु मध्ये करिब सत्तरी प्रतिशत रोग पशुपन्छीमा उत्पन्न भई मानिसमा सर्ने प्रकारका रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।
नेपालमा पनि पशुपन्छी र मानवबिच एकआपसमा सर्न सक्ने र वातावरणमा लामो समय रहन सक्ने विभिन्न रोगहरुको संक्रमणबाट वर्षेनी धेरै संख्यामा पशुधन तथा मानवीय क्षति भईरहेको अन्तरक्रियामा डा.सन्तोष दुलालले बताए । ‘एक स्वास्थ्य अवधारणाले मानिस, जनावर र वातावरणको स्वास्थ्यलाई दिगो सन्तुलन र अनुकूलन गर्ने लक्ष्य लिएको छ,’डा. दुललाले भने,‘यसले मानव, घरेलु र वन्यजन्तु, वनस्पति, कृषि, जैविक विविधता र वातावरणमा अन्तरनिहित सम्बन्ध राख्छ ।’
चितुवाले मानिसलाई आक्रमण गर्दा औषधी गराउने तर्फ मात्र हाम्रो ध्यान जाने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार रामले बताए । ‘तर,आक्रमण गरेको चितुवाबाट रेबिजलगायत अन्य जुनोटिक डिजिज सर्न सक्र्छ,’डा.रामले भने,‘यस अन्तरक्रियाले हामीलाई पनि सचेत गराएको छ ।’
पशुपन्छी पालन तथा पशुजन्य पदार्थको अव्यवस्थित बजारीकरण जनसंख्या वृद्धि, वातावरणीय विनासलगायतका कारणबाट मानिस, घर पालुवा तथा जंगली जनावरमा नयाँ पुनः देखापरेका महामारी र जुनोटिक रोगहरुको जोखिम बढ्दो छ ।
यस्ता जोखिमको स्तर निर्धारण, निरन्तर निगरानी, समयमै पहिचान, रोकथाम तथा नियन्त्रण सम्बन्धी पुर्व तयारी र प्रतिकार्यको लागि बहुपक्षीय समन्वय, सहकार्य सुचनाको आदान प्रदान गर्न एक स्वास्थ्य अवधारणाको रणनीति रहेको छ । जनस्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई प्रभाव पार्ने साझा जोखिम तथा चुनौतीहरुको प्रभावकारी व्यवस्थापन द्वारा अधिकतम स्वास्थ्य लाभ प्राप्त गराउने दूरदृष्टिले एक स्वास्थ्यको छ ।
अन्तरक्रिया कार्यमक्रममा एक स्वास्थ्य दृष्टिकोण मानव वन्यजन्तु अन्तरद्वन्द्व तथा सहअस्तित्व सम्बन्धि डा.सन्तोष दुलाल, मानव वन्यजन्तु द्वन्द्वले निम्त्याएको जोखिममा संचारकर्मीको भुमिका सम्बन्धि अर्जुन अधिकारी, वल्डलाइफ स्वास्थ्य बारे बर्दिया राष्ट्रिय निकुञ्जका डा.आयुष महर्जन, नेपालमा जुनोटिक नेपालमा जुनोटिक रोगहरु सम्बन्धि डा.शेर बहादुर पुनले प्रस्तुतीकरण गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार राम, ठाकुरबाबा नगरपालिका–७ का वडा अध्यक्ष कलम बिष्ट, स्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेललगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।