बर्दिया,भदौ १२(फरकसमाचार)/ लागू औषध यहाँको मात्र नभई देशभर ठुलो समस्याको रुपमा रहेको प्रहरी उपरीक्षक (एसपी)सरोज पौडेलले बताएका छन् ।अघिल्लो हप्ता सरुवा भएर आएका एसपी पौडेलले बुधबार पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
‘लागू औषध समस्याको पछि प्रहरी मात्र लागेर समाधान हुदैन,’एसपी पौडेलले भने,‘सबैलाई जेलमा हालेर पनि हुदैन, जसकारण अभिभावकले आफ्नो छोराछोरीले के गरिरहेका छन् विशेष निगरानी गर्नुपर्छ र समाजमा व्यापक रुपमा जनचेतना फैलाउनुपर्छ ।’
जिल्लाको शान्ति सुरक्षा कायम राख्न र लागू औषध समस्या समाधानको लागि हामीसंग भएको स्रोत साधन व्यापक रुपमा परिचालन गर्छौ र तपाईहरु पनि बिना वर्दीको प्रहरी हो, समाजमा देखिएका शंकास्पद गतिविधिको समयमै हामीलाई जानकारी गराउन पत्रकारहरुसंग एसपी पौडेलले आग्रहसमेत गरे ।
भेटघाट कार्यक्रममा गत साता प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी पौडेललाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेलगायत अन्य पत्रकारहरुले जिल्ला स्थित देखिएका समस्याको बारेमा जानकारी गराएका थिए ।