भोटको मौसम र नेताको अलमारी : आजको भेष, भोलिको भोट
सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित

नेपालमा मौसम चार वटा मात्र हुँदैनन् भन्ने कुरा हामी सबैलाई थाहा छ । वर्षा, जाडो, गर्मी र चुनाव । चुनाव आफैंमा एउटा छुट्टै मौसम हो—यो मौसममा खेतमा मलभन्दा बढी आश्वासन छर्छ, सडकमा धुलोभन्दा बढी जुलुस उड्छ र नेताहरूको अलमारी मा कपडाभन्दा बढी संस्कृतिहरू झुन्डिन्छन् । चुनाव आउनासाथ देशका नेताहरूमा एउटा अनौठो परिवर्तन देखिन्छ । उनीहरू अचानक बहुरूपी कलाकार बन्छन् ।

बिहान एउटा समुदायको टोपी, दिउँसो अर्को समुदायको गम्छा, बेलुका अर्को जातिको परम्परागत पोशाक हेर्दा लाग्छ, राजनीति होइन, सांस्कृतिक फेसन शो चलिरहेको छ । हिजो टेलिभिजन खोल्दा देखियो—माधव कुमार नेपाल एउटा कार्यक्रममा स्थानीय जनजातीय पोशाकमा सजिनुभएको थियो । टोपीदेखि जुत्तासम्म सबै कुरा मिलेको । अनुहारमा आत्मीय मुस्कान । भीडले ताली बजाइरहेको थियो । एकछिन त लाग्यो, उहाँ त्यही समुदायको जन्मजात सदस्य हुनुहुन्छ कि क्या हो ! तर कार्यक्रम सकिएपछि भेष फुकालियो, फोटो फेसबुकमा अपलोड भयो, र
भोलिपल्ट अर्को कार्यक्रममा अर्को भेष देखियो । संस्कृतिको सम्मान यति छिटो परिवर्तन हुने रहेछ कि मौसमसमेत लाज मानोस् ।

पत्रकारिता क्षेत्रका चर्चित अनुहार ऋषि धमला पनि बेला–बेलामा विभिन्न सांस्कृतिक पहिरनमा देखिनुहुन्छ । कहिले ढाका टोपी, कहिले मधेशी गम्छा, कहिले जनजातीय पोशाक । प्रश्न सोध्दा जति धारिलो देखिनुहुन्छ,भेष परिवर्तन गर्दा त्यति नै सजग ।हेर्दा लाग्छ, पत्रकारिता मात्र होइन,
‘भेष विज्ञान’ मा पनि गहिरो अनुसन्धान गर्नुभएको छ । चुनावी मौसममा त सबैजना एकअर्कालाई उछिन्दै भेष धारण गर्न प्रतिस्पर्धा गरिरहेका जस्ता देखिन्छन् ।

राजधानीका मेयर बालेन्द्र शाह युवामाझ जाँदा आधुनिक स्टाइलमा, सांस्कृतिक कार्यक्रममा जाँदा परम्परागत पोशाकमा देखिनुहुन्छ ।
विकासको नारा सँगै भेषको विविधता पनि बढ्दै गएको देखिन्छ । लाग्छ, अब नगरपालिकाले सडक, ढल र फोहोरसँगै ‘ड्रेस कोड’ को पनि नीति ल्याउनेछ—कुन कार्यक्रममा कुन पोशाक लगाउने भन्ने आधिकारिक परिपत्रसहित । चुनाव नजिकिँदै जाँदा नेताहरूको अलमारीको महत्व असाध्यै बढ्छ । त्यो अलमारी अब साधारण फर्निचर होइन, एउटा सांस्कृतिक संग्रहालय जस्तै हुन्छ ।

त्यहाँ हिमालदेखि तराईसम्मका सबै समुदायका पहिरनहरू सुरक्षित छन् । ढाका टोपी, भादगाउँले टोपी, मधेशी गम्छा, थारू पोशाक, जनजातीय भेष—सबै केही । तर दुःखको कुरा, त्यही अलमारीमा ती समुदायका समस्या भने राख्ने ठाउँ हुँदैन । समस्या त कागजको फाइलमा अट्दैन, कपडाको ह्याङ्गरमा झुन्डिँदैन । नेताहरूको चुनावी सूत्र पनि सरल छ “जुन समुदायमा जाऊ, त्यही समुदायको भेष लगाऊ, फोटो खिचाऊ, पोस्ट गराऊ, भोट पाऊ ।” यो सूत्र यति सफल छ कि अब घोषणापत्र भन्दा पहिले ‘ड्रेसपात्र’ तयार हुन्छ । कुन जिल्लामा जाँदा कुन टोपी लगाउने, कुन गाउँमा गम्छा कस्तो बाँध्ने, कुन समुदायको कार्यक्रममा कस्तो नृत्यको तालमा हात हल्लाउने—सबैको पूर्वतयारी हुन्छ । विकास योजनाको फाइल ढिलो तयार होला, तर भेषको सूची समयमै तयार हुन्छ ।

फेसबुक र टिकटकको युगमा राजनीति पनि फोटोमैत्री भएको छ । कुनै कार्यक्रममा पुगेपछि नेताहरूले पहिले समस्या सुन्नुहुन्न, पहिले फोटो खिचाउनुहुन्छ । फोटोमा मुस्कान अनिवार्य हुन्छ । भेष एकदम मिलेको हुनुपर्छ । किनकि त्यो फोटो सामाजिक सञ्जालमा जानेछ, हजारौं लाइक आउनेछ, र टिप्पणीमा लेखिनेछ “हाम्रा नेता कति संस्कारी!” संस्कारको मापन अब व्यवहारले होइन, पहिरनले हुन्छ । जनता पनि आशावादी हुन्छन् । नेताजी हाम्रो भेषमा आउनुभयो, अब हाम्रो पीडा पनि बुझ्नुहुन्छ होला भन्ने विश्वास राख्छन् । तर कार्यक्रम सकिएपछि नेताजी अर्को ठाउँमा जानुहुन्छ, अर्को भेष लगाउनुहुन्छ, अर्को समुदायसँग त्यही आत्मीय मुस्कान दोहो¥याउनुहुन्छ । संस्कृतिको सम्मान यदि केही घण्टाको लागि मात्र हो भने त्यो सम्मान होइन, अभिनय हो । अभिनय राम्रो भयो भने ताली पक्कै आउँछ, तर अभिनयले पेट भरिँदैन ।

यदि नेताहरूको अलमारी बोल्न सक्थ्यो भने सायद यस्तो भन्थ्यो—“मेरो मालिकले सबै समुदायको भेष लगाउनुभयो, तर सबै समुदायको समस्या कहिल्यै उठाउनुभएन ।” अलमारीले देखेको हुन्छ–चुनावको बेला सबै पोशाकहरू प्रयोग हुन्छन्, तर चुनावपछि तिनमा धुलो जम्छ । टोपीहरू मौन साक्षी हुन्छन्, गम्छाहरू निस्सास्सिन्छन्, परम्परागत पोशाकहरू फेरि अर्को चुनाव पर्खन्छन् । भेष आफैंमा खराब कुरा होइन ।
कुनै समुदायको पोशाक लगाउनु सम्मानको प्रतीक हुन सक्छ । समस्या तब हुन्छ जब त्यो सम्मान केवल भोटको लागि हुन्छ । संस्कृति कुनै स्टेज प्रोग्राम होइन जहाँ पोशाक बदल्दै अभिनय गरिन्छ । त्यो जीवनशैली हो, पहिचान हो, इतिहास हो ।

त्यसलाई सम्मान गर्न समय र संवेदना चाहिन्छ, केवल क्यामेरा होइन । कहिलेकाहीँ त यस्तो लाग्छ, नेताहरूले अब नयाँ मन्त्रालय खोल्नुपर्छ —“भेष तथा संस्कार मन्त्रालय ।” त्यहाँ विशेषज्ञहरू बसेर सल्लाह दिनेछन्—“यसपाली तराईमा जाँदा गम्छा अलि बायाँपट्टि बाँध्नुहोला, फोटो राम्रो आउँछ ।” “हिमाली क्षेत्रमा जाँदा टोपी अलि तल झुकाएर लगाउनुहोला, आत्मीय देखिन्छ ।” विकासका फाइलहरू धुलोमा पल्टिँदै बस्नेछन्, तर भेषको सल्लाहमा कुनै कमी हुँदैन । जनताको प्रश्न भने सरल छ । यदि तपाईं हाम्रो भेष लगाउन सक्नुहुन्छ भने हाम्रो समस्या पनि किन लगाउन सक्नुहुन्न ? हाम्रो टोपी तपाईंको टाउकोमा सजिन्छ भने हाम्रो पीडा तपाईंको मनमा किन सजिँदैन ? संस्कृतिको सम्मान फोटोमा देखिन्छ भने व्यवहारमा किन देखिँदैन ? चुनावपछि किन त्यो आत्मीयता हराउँछ ? भोटको मौसम सकिए पछि नेताहरू फेरि आफ्नै पुरानो भेषमा फर्किन्छन् । टोपीहरू अलमारीमा थन्किन्छन् । गम्छाहरू भुइँमा राखिन्छन् ।

कार्यक्रमहरू कम हुन्छन्, फोटोहरू घट्छन् । जनता फेरि आफ्नो दैनिकीमा फर्किन्छन् । समस्या उस्तै रहन्छन् । सडक अधुरै, अस्पताल अपुरै, विद्यालय संसाधनविहीन । तर फोटो भने सुन्दर हुन्छन्—इतिहासको एल्बममा सजिएका । साँचो कुरा के हो भने, जनता अब भेषभन्दा बढी विश्वास खोजिरहेका छन् । उनीहरूलाई टोपीभन्दा बढी उपचार चाहिएको छ, गम्छा भन्दा बढी रोजगारी चाहिएको छ, पोशाकभन्दा बढी पारदर्शिता चाहिएको छ । संस्कृतिको सम्मान केवल पहिरनले होइन, नीति र व्यवहारले देखिन्छ ।

यदि नेताहरूले साँच्चिकै सबै समुदायलाई सम्मान गर्न चाहनुहुन्छ भने, त्यो सम्मान बजेटमा देखिनुपर्छ, योजनामा देखिनुपर्छ,निर्णयमा देखिनुपर्छ । हामी विविध संस्कृतिको देश हौं । यहाँ सबै समुदायको आ–आफ्नो पहिचान छ, आ–आफ्नो गौरव छ । त्यो गौरवलाई चुनावी पोस्टरको पृष्ठभूमि बनाउनु उचित होइन । त्यो गौरवलाई दीर्घकालीन नीति र समावेशी व्यवहारमा रूपान्तरण गर्नुपर्छ । भेष लगाउनु सजिलो छ,सोच बदल्नु गाह्रो छ । टोपी किन्न सजिलो छ, विश्वास जित्न गाह्रो छ । अन्ततः, भोटको मौसम फेरि आउनेछ । नेताहरू फेरि नयाँ भेषमा देखिनेछन् । फोटो फेरि सामाजिक सञ्जालमा छ्यापछ्याप हुनेछ । तर जनताले यसपटक एउटा कुरा याद राख्नुपर्छ—भेष बदलिन सक्छ, तर चरित्र बदलिन्छ कि बदलिँदैन ? मुस्कान सजावट हुन सक्छ, तर प्रतिबद्धता सजावट हुँदैन ।

संस्कृतिको सम्मान शब्दमा होइन, कर्ममा प्रमाणित हुन्छ ।नेताजी, तपाईं हाम्रो भेष लगाएर आउनुहुन्छ, हामी स्वागत गर्छौं । तर कृपया, हाम्रो समस्या पनि अलि साथमा लगाएर हिँड्नुहोस् । टोपी टाउकोमा सजाउनुहुन्छ भने जिम्मेवारी पनि मनमा सजाउनुहोस् । किनकि जनतालाई अब भेष होइन, भविष्य चाहिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर