कलंकी–धोबीखोला सडकका चिरा पुरिने
शुक्रबार, फागुन ३०, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन ३० : विस्तारको तयारीमा रहेको कलंकी–धोबीखोला सडकमा चिरा पुर्ने काम (क्रकसिल) गरिने भएको छ । सडक विभागले चिराबाट पानी छिरेर सडक अझै जीर्ण नबनोस् भनी चिरा पुर्न लागेको हो ।

यस सडकमा विस्तार शुरु हुनु पहिले सडक प्रयोगकर्तालाई आवतजावत सहज होस् भनी यस किसिमको मर्मत गर्न लागिएको हो । यस किसिमको मर्मतले सडक सुधारभन्दा पनि थप बिग्रनबाट रोक्ने डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुवेर नेपालीले बताए ।

उनका अनुसार सडक निर्माण शुरु हुनु पहिले थप क्षति नपुगोस् भनी एक वर्षलाई लक्षित गरी सो काम गर्न लागिएको हो । यस किसिमको मर्मत नयाँ नभए पनि नेपालमा कम मात्रै हुने गरेको छ । कालोपत्र सडकमा पानीका कारण क्षति पुग्ने भएकाले सडकको भित्र पानी जानबाट रोक्ने उनले बताए । यसले थोरै खर्च गरेर पनि ठूलो रकम बराबरको काम गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘यसलाई हामीले लाख खर्च गरेर करोड जोगाउने कामका रूपमा लिने गर्छाैँ ।’

चक्रपथमा कोटेश्वर–कलंकी खण्डमा विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्डका रूपमा कलंकी–धोबीखोला विस्तार गर्ने भएको छ । चिनियाँ टोलीले यसअघि नै यस सडकमा विस्तृत अध्ययन गरिसकेको छ । चक्रपथको पहिलो खण्ड निर्माण गर्दा आकाशे पुल कम भएकाले यस खण्डमा एक/एक किमीको दूरीमा निर्माण गरिने भएको छ ।

यस सडकमा दुई ‘अण्डर पास’ निर्माण हुनेछन् । सडकमा दुर्घटनामा कम गराउन बीच भागमा डिभाइडर हुनेछ । पहिलो खण्डमा जस्तै यस सडकमा मुख्य लेन र सहायक लेन चार/चार गरी जम्मा आठ लेनको हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर