चार स्थानमा हेल्थ डेस्क राखिने
बिहिबार, चैत ०६, २०७६ मा प्रकाशित

मार्तडी, चैत ६ : विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड१९)को संक्रमणबाट जोगिन सतर्कता साथै जिल्लामा आवतजावत गर्ने सर्वसाधारणको जाँचका लागि चार स्थानमा हेल्थ डेस्क स्थापना गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

 

बुधबार प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए । जिल्ला दैवी प्रकोप तथा उद्धार समितिको सर्वपक्षीय बैठकले नौ निर्णयसहित जिल्लामा आउने चार नाकामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

 

हेल्थ डेस्क पूर्वीउत्तरी भेगको कोल्टी विमानस्थल कोल्टी, जगन्नाथ गाउँपालिकाको जुड्डीमा समेत स्थापना गरिने जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समिर भण्डारीले जानकारी दिए । उनका अनुसार बाजुरा अछामको सिमाना रहेको बूढीगंगा नगरपालिकाको इकडीगाड वा बाम्का बजार र जिल्ला सदरमुकाम मार्तडीको कारागार नजिकै रहेको बसपार्कमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको राससलाई बताए ।

 

यस्तै कोरोना संक्रमणबाट जोगिनका लागि जिल्लाका स्थानीय तह र सबै कार्यालयलाई प्रचारप्रसारमा तीव्रता दिन प्रशासनले आग्रह गरेको छ । जिल्ला अस्पताल बाजुरामा आइसोलेसन स्थापना गरी शंकास्पद व्यक्तिलाई उपचार गर्ने गरी श्यया बनाइएको छ ।

 

कोरोना संक्रमणबाट बच्नका लागि नौ वटै स्थानीय तहले प्रतिकार्य योजना बनाएर चैत मसान्तभित्र जिल्ला दैवी प्रकोप समितिलाई बुझाउनुपर्ने भएको छ । संक्रमणको बेला स्वास्थ्यकर्मीलाई आपतकालीन समयबाहेक बिदा नलिन प्रशासनले पत्राचार गरेको सूचना अधिकारी भण्डारीको भनाइ छ । कोरोना संक्रमण देखिएमा स्थानीय तहले जिल्ला अस्पताल बाजुरा र स्वास्थ्य कार्यालयमा उद्धार टोली तयार राखिने भएका छन् । हेल्थ डेस्क स्थापना गरिने भए पनि आवश्यक उपकरण अभाव रहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले स्वीकार गरेका छन् ।

 

कोरोना भाइरस संक्रमणका लागि जाँच गर्ने थर्माेमिटरसहित अन्य आवश्यक सामग्री नभएको प्रजिअ न्यौपानेको भनाइ छ । आवश्यक जनशक्ति तयार भए पनि सामग्री नभएपछि हेल्थ डेस्क स्थापना गर्न ढिलाइ हुने सहायक प्रमसुख जिल्ला अधिकारी भण्डारी बताउँछन् ।

 

जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना

यहाँस्थित बडीमालिका नगरपालिका८ मा रहेको जिल्ला अस्पताल बाजुराले कोभिड१९को संक्रमण भएका बिरामीका लागि छुट्टै आइसोलेसन कक्ष स्थापना गरेको अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुरामा दुई श्ययाको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोनाको विश्वव्यापी संक्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि आइसोलेसन कक्ष स्थापना गरिएको हो ।

 

अस्पतालभित्रै स्थापना गरिएको आइसोलेसन कक्षमा शंकास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिँगानको नमूना संकलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताए । शंकास्पद बिरामी भेटिएमा सोही कक्षमा राखेर उपचार गर्ने गरी अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको हो । कोरोनाको विश्वव्यापी संक्रमणलाई मध्यनजर गरेर स्थानीयस्तरमा पूर्वतयारीस्वरुप आइसोलेसन कक्षको स्थापना गरेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी चूडामणि पन्तले राससलाई जानकारी दिए ।

 

कोरोनाबाट बच्न पूर्वतयारी आवश्यक रहेकाले सोहीअनुसार आइसोलेसन कक्ष स्थापना गरिएको सूचना अधिकारी पन्तको भनाइ छ । यसअघि प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो । प्रदेश सरकारको निर्देशनलगत्तै जिल्ला अस्पतालभित्रै दुई श्ययाको आइसोलेसन कक्ष निर्माण गरेर राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर