भारतबाट आएकालाई होम क्वारेन्टाइनमा
बिहिबार, चैत १३, २०७६ मा प्रकाशित

जाजरकोट, चैत १३ : भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिको पहिचान गरी होम क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ ।शिवालय गाउँपालिकाका४ र भेरी नगरपालिकाका११ र १३ मा गरी १८ जनालाई होम क्वारेन्टाइनमा राखिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

त्यस्तै ११ र १२ नं वडामा समेत केही सर्वसाधारण भारतबाट आएको सूचना प्राप्त भएकाले उनीहरूलाई पनि होम क्वारेन्टाइनमा राख्ने काम शुरु गर्न लागिएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । अन्य स्थानीय तहमा समेत भारतबाट मानिस आएको सूचना प्राप्त भएकाले सोको पहिचान गरी होम क्वारेन्टाइनमा राख्ने काम जारी रहेको उनको भनाइ छ ।

 विदेशबाट आएकाको लगत संकलन शुरु

 कोरोनाबाट जोगिन तथा जोगाउनका लागि जिल्ला प्रशासन कार्यालयको आग्रहमा सबै स्थानीय तहले विदेशबाट आएकाको लगत संकलन शुरु गरिएको छ । जिल्लाका सबै पालिकामा कोकहाँबाट आएका हुन्, सबैले सूचना दिएर सहयोग गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

 छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकामा भारतबाट आएका स्थानीयवासीलाई पहिचान गरी होम क्वारेन्टाइनमा राख्ने काम शुरु भइसकेको छ । त्यस्तै विभिन्न जिल्लाबाट आएर जाजरकोटमा अलपत्र परेका २० जनाको उद्धार गरी सम्बन्धित ठाउँमा पठाउने कामसमेत भएको छ । डोल्पाका मात्र २० जनालाई सुरक्षित तरिकाले पठाएको प्रजिअ पन्तको भनाइ छ ।

क्वारेन्टाइन निर्माण कार्य तीव्र

 जिल्लाका सात स्थानीय तहले स्वास्थ्य सहायता कक्ष स्थापनादेखि क्वारेन्टाइन निर्माणका कामलाई तीव्रता दिएका छन् ।बाँचौँ र बचाऔँ भन्ने मूल ध्येयका साथ कुनै कसर बाँकी नराखी काम गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

सीमानाकामा झनै कडा गरिएको शाहको भनाइ छ । नलगाड नगरपालिकाले रुकुमपश्चिमको आठविसकोट चिसापानी बीचमा स्वास्थ्य सहायता कक्ष स्थापाना गरी काम शुरु गरिएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । जुनिचाँदे गाउँपालिकामा औषधि अभाव भएकाले औषधि आपूर्तिका लागि स्वास्थ्य सेवा कार्यालयबाट औषधि लिएर आफू जान लागेको पत्रकार रेशमबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर