सामाजिक सञ्जालमार्फत सहयोगको घोषणा
बिहिबार, चैत १३, २०७६ मा प्रकाशित

खोटाङ, चैत १३ : विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा उपचार कोषका लागि खोटाङमा कर्मचारीदेखि सांसदसम्मले सहयोग घोषणा शुरु गरेका छन् ।

उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर कोरोनाको कारण संकटको सामना गरिरहेको नेपाल सरकारको सहयोगार्थ राज्यबाट आफूले पाउने पारिश्रमिक प्रदान गर्ने घोषणा गरेका हुन् ।प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले एक महिनाको पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेको छ ।

खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भट्टराईले कोरोनाको कारण संकटको सामना गरिरहेको सरकारको सहयोगार्थ महिना दिनको सेवासुविधावापतको पारिश्रमिक कोषमा जम्मा गरिदिने सामाजिक सञ्जालमार्फत घोषणा गरेको हो ।

संकटको समयमा राज्यलाई सकेको सहयोग गर्नु प्रत्येक नागरिकको दायित्व भएकाले कोरोनाको संक्रमण रोकथामका लागि सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले बताए ।

संकटको सामना गर्न मुलुक एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन, भट्टराईले भने, ‘जसले जे सक्छ, त्यही सहयोग गर्नु प्रत्येक नेपालीको काँधमा जिम्मेवारी आएको छ । त्यसैले देशलाई संकटबाट जोगाउन आआफ्नो क्षेत्रबाट सरकारलाई सक्दो सहयोग गरौँ ।

सांसद भट्टराईले त्रासले होइन साहसले, बेवास्ताले होइन सचेतनाले आफूलाई बचाउँदै अरूलाई पनि बचाउन सरकारको निर्देशन पालना गर्नुपर्ने अवस्था आएको बताए ।

 यस्तै, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र साकेला गाउँपालिकाका गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का झंकारले एकएक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने बताएका छन् । यसैगरी जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकरमान राईले पनि दुई महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने बताएका छन् ।

यसैबीच, ऐसेलुखर्क गाउँपालिकामा कार्यरत कर्मचारीले पाँच दिन बराबरको तलब उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गाउँपालिकामा कार्यरत ८७ कर्मचारीले पाँच दिनको तलब कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

 विश्वभर फैलँदै गएको कोरोना भाइरस (कोभिड१९)को संक्रमण रोकथामका लागि जिल्लाका १० वटै स्थानीय तहले उच्च सतर्कता अपनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हरेक स्थानीय तहले आआफ्नो क्षेत्रमा क्वारेन्टाइन निर्माण गरेर तयारी अवस्थामा राखेको छ । जिल्लाको सबैभन्दा ठूलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३६ श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ भने दोस्रो ठूलो हलेसी तुवाचुङ नगरपालिकाले २० श्ययाको निर्माण गरेको छ । जिल्लाका अन्य स्थानीय तहले पनि आआफ्नो क्षेत्रमा क्वारेन्टाइन निर्माण गरेर चौबीसै घण्टा स्वास्थ्यकर्मी खटाएको छ ।

जिल्लामा स्थापना गरिएको क्वारेन्टाइन तथा आइसोलेसन वार्डका लागि हरेक स्थानीय तहले कोष खडा गर्ने तयारी गरेको जनाइएको छ । तत्कालका लागि कर्मचारीको तलबबाट स्थापना गरिएको क्वारेन्टाइन तथा आइसोलेसन वार्डका लागि थप रकम संघीय सरकार तथा प्रदेश सरकारसमक्ष माग गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष बबि चाम्लिङले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष चाम्लिङको संयोजकत्वमा कोरोना भाइरस रोकथाम नियन्त्रण जिल्ला समन्वय समितिसमेत गठन गरिएको छ । जिल्लाका १० वटै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, जिल्ला अस्पताल, रेडक्रस र उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधि सदस्य रहने गरी समिति गठन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर