जुम्लामा बल्ल राहत
बुधबार, बैशाख १७, २०७७ मा प्रकाशित

जुम्ला, वैशाख १७ : कोरोना रोकथामका लागि बन्दाबन्दीको अवधि लम्बिएपछि बल्ल यहाँका स्थानीय तहले ज्यालादारी र विपन्न वर्ग पहिचान गर्दै राहत वितरण गर्न थालेका छन् ।

हप्ता, महिना र तीन महिनासम्म खाना नपुग्ने घरपरिवारको पहिचान गरेर राहत वितरण गर्न थालिएको हो । यसअघि जिल्लामा राहत वितरण गरिएको थिएन । यहाँका आठ स्थानीय तहले आ–आफ्नै मापदण्ड बनाएर खाद्यान्न वितरण गरेका छन् । चन्दननाथ नगरपालिका–९ श्रीढुस्काका ३७० जनाले राहत पाएका छन् ।

उद्योग वाणिज्य सङ्घ जुम्लाबाट १०, आर्ट अफ द नेपाल लिमिटेडबाट २० र चन्दननाथ नगरपालिकाले ३४० जनालाई राहत उपलब्ध गराएको हो । ती सामग्री नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपाने (महत) बाट हस्तान्तरण गरिएको थियो ।

अतिविपन्न, अपाङ्गता, असहाय, वृद्ध, बेरोजगार व्यक्तिलाई छनोट गरेर राहत वितरण गरिएको उनले बताए । यसैबीच गुठिचौर गाउँपालिका–४ का ६१२ घरधुरीलाई मास्क, साबुन, चामल र नुन वितरण गरिएको छ । प्रत्येक नागरिकको घरदैलोमा पुगेर राहत वितरण गरिएको वडाध्यक्ष जगप्रसाद जैशीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर