ः
बर्सेनि हराउँदै नेपाल र भारत छुट्टाउँने सीमा स्तम्भ
बर्दिया, चैत २३ (फरकसमाचार)
नेपाल र भारत सीमा क्षेत्रका सीमा स्तम्भ वर्षेनि हराउँने गरेको खुलेको छ । जिल्लाको मानखोला पुर्वमा रहेको ४१ नम्बरको पिलर देखि सीमावर्ती कतर्निया मुख्य पिलर नं. ९८ सम्ममा पर्ने ८२ किलोमिटर भित्र पर्ने पिलर बर्षेनि हराउने गरेको पुष्टि भएको छ । यस वर्ष गुलरिया नगरपालिका–१० महजिदियास्थित गाडिएको पाँच वटा सहायक स्तम्भ केहि दिन अघि देखि हराएकोे हो । नदी तटिय क्षेत्रका सीमा स्तम्भ बाढीले बगाउँने प्रशासनले औल्याएपनि अन्य सीमा स्तम्भ के कति कारण हराउँने गरेको पुष्टि हुन सकेको छैन । जंगली हात्तीले समेत सीमा स्तम्भ भत्काउँने गरेको भेटिएको छ ।
०७०÷०७१ मा १६, ०७१÷०७२ मा ६ र ०७३÷०७४ मा ५ वटा सीमा स्तम्भ हराएको तथ्याकंले देखाएको छ । केहि सीमा स्तम्भ साविक ठाउँमा पहिले देखि छैन । सहायक र ठूला गरि १ सय १२ वटा सीमा स्तम्भ नरहेको प्रशासनको तथ्याकंमा उल्लेख छ । वर्षेनी सीमा स्तम्भ हराउँदा भारतीय पक्षले सीमा स्तम्भ हराएको ठाउँमा नेपाली भुमि दाबी गर्ने गरेको स्थानीयले बताए । स्थानीयले पिलर हराएको खबर दिएपछि पुग्ने सुरक्षा निकायले सीमा स्तम्भ हराएको पुष्टि गरेपछि बर्षेनि सीमा स्तम्भ हराउने गरेको तथ्य खुल्ने गरेको छ ।
पाँच वर्ष अघि जिल्ला प्रहरी कार्यालयलाई मथुराहरद्धार चौकिले ५८ नम्बर पिलरको ५ वटा सहायक पिलर हराएको पत्राचार गरेपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी विष्णु वहादुर थापा र प्रहरी उपरीक्षक भरत वहादुर बोहराको नेतृत्वमा अनुगमनमा गएको टोलीले ५ वटा सीमा स्तम्भ हराएको पुष्टि गरेको थियो । त्यतिबेला पाँच वटा पिलर भेटिएको थिएन । ०७१ र ०७४ मा बबई भिषण बाढी आएको थियो । त्यसले पाँच वटा पिलर हराएको अनुमान गरेका थिए । अहिले सम्म मुख्य र सहायक गरि १ सय १२ वटा मुख्य पिलर हराएको तथ्याकं छ ।
बर्षेनि हराउँने पिलरको खोजीको स्थानीय प्रशासन तदारुकता नदेखाएकोले हालसम्म हराएका सिमा स्तम्भको खोजी वा पुननिर्माणका लागि सरकारले पहल नगरेको स्थानीयको गुनासो छ । सीमा स्तम्भ मर्मत र पुननिर्माणमा सरकारले चासो नदेखाएका कारण नेपाली भूमि मिचिदै गएको स्थानीयको भनाई छ । नेपाल–भारत सीमा क्षेत्रका स्तम्भहरू हराउने र तोडफोड हुने क्रम बढेपछि कतिपय ठाउँका दशगजाको नाम निशान मेटिएको छ ।
नेपाल–भारत सीमामा मुख्य पिलर ५८, सहायक ८० गरि १ सय ३८ स्तम्भ नेपाल भारतको सीमामा गाडिएको थियो । ६५७, ६८१, ६७२, ६९३ र ६९० का मुख्य सीमा स्तम्भ यस अघि हराएका थिए । यसै गरी पाँच वर्ष अघि सहायक ६७१ र ३३, ६७३ र ३, ६७४ र ४, तथा ६८० र ७ गरी ७१ वटा सीमा स्तम्भ हराएको स्थानीय प्रशासनले जनाएको छ । अहिले सीमा स्तम्भ हराएको संख्या बढेर १ सय १२ पुगेको हो । सुरक्षाकर्मीले विभिन्न समयमा आएको बाढीले सीमा स्तम्भ बगाएको दाबी गरेपनि त्यो दाबी प्रति स्थानीय सन्तुष्ट छैनन् । यस अघि जस्तै बर्षेनी सीमा स्तम्भ हराउँदा सीमावासी चिन्तित छन् । बर्षेनि सीमा स्तम्भ हराउँने क्रमले नेपाल भुमि भारतीय पक्षले मिच्दै आएको स्थानीयले प्रतिक्रिया दिए ।
स्थानीयका अनुसार फत्ता थारुको १० कट्ठा, विश्राम थारुको २ विघा ७ कट्ठा, खटिक थारुको कट्ठा र रामदत्त थारुको १४ कट्ठा जग्गा भारतीय पक्षबाट अतिक्रमण भएको छ । भारतीय पक्षले जवरजस्ती सीमा स्तम्भ सार्दै नेपाली भूमि अतिक्रमण गरिरहेको स्थानीय गुनासो गर्छन् ।
गुलरिया नगरपालिका–७ का साहादात अली धोविको २ विघा १० कट्ठा जग्गा बहराइच जिल्लाको सलारपुरका राजदेव गौडले मिचेको स्थानीयले बताए । सीमा स्तम्भ नहुदा जग्गाको लालपुर्जा देखाउँदै जोत्न खोज्दा भारतीय पक्षको धम्कि दिने गरेको स्थानीयको गुनासो छ ।