स्कुलकप क्रिकेट प्रतियोगिताको उपाधि बगलामुखीलाई
मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक
बर्दिया,मंसिर २९/ बर्दिया स्कुलकप क्रिकेट प्रतियोगिताको उपाधि बगलामुखी माविले हात पारेको छ । गुलरिया नगरपालिका–४
खेलकुद मैदानमा सोमबार भएको फाइनल खेलमा शम्भुशरण माविलाई पराजित गर्दै बगलामुखीले उपाधि हात पारेको हो । फाइनल खेलमा बगलामुखीले शम्भुशरण माविलाई सुपर ओभरमा १० रनले पराजित गरेको छ । स्वर्गीय कृष्णप्रसाद बस्याल राकेशको स्मृतिमा मंसिर २१ गतेदेखि स्कुलकप प्रतियोगिता सुरु भएको थियो ।

दुवै टिमले १० विकेटको क्षतिमा समान ९४ रन बनाएर अलाउड भएपछि खेल सुपर ओभरमा गएको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको शम्भुशरण मावि खैरापुरले निर्धारित २० ओभरको खेलमा १० विकेटको क्षतिमा ९४ बनाउन सफल भएको थियो । शम्भुशरणका लागि गौरव खैराहाले १३ बलमा १५ रन बनाएका थिए भने अहमद अलीले २० बलमा १३ बनाएका थिए भने कपिल खत्रीले १० बलमा ११ रन बनाएका थिए । शम्भुशरणलाई ९४ रनमा अल आउट गर्ने क्रममा बगलामुखीको तर्फबाट कसिलो बलिङ गर्दै सुशान्त खनालले सात रन दिएर तीन विकेट लिएका थिए भने आकाश यादवले १६ रन दिएर तीन विकेट र समिर पाण्डेले १३ रन दिएर एक विकेट लिएका थिए । ९५ रनको लक्ष्य लिएर आएको बगलामुखीले क्रिजमा खेलाडीहरुको राम्रो पार्टनरसिप हुन नसक्दा १० विकेटको क्षतिमा ९४ रनमै अल आउट हुन पुगेको थियो र खेल सुपर ओभरमा गएको थियो ।

बगलामुखीको लागि ब्याटिङ गर्दै अमन यादवले २५ बलमा २१ रन बनाएका थिए भने सुशान्त खनालले ५ बलमा नौ रन र हार्दिक माझिले ११ बलमा आठ रन बनाउँदै सम्पूर्ण टिम ९४ रनमा अल आउट भएको थियो ।
बंगलामुखीलाई ९४ रनमा रोक्ने क्रममा शम्भुशरणको तर्फबाट कसैले पनि गर्दै गौरव खैराहाले नौ रन दिएर तीन विकेट लिएका थिए भने कपिल खनालले १० रन दिएर तीन विकेट लिएका थिए ।

खेल टाई भएपछि सुपर ओभरको खेलमा बगलामुखीले निर्धारित एक ओभरमा १२ रन बनाएको थियो । जितका लागि १३ रनको लक्ष्य लिएर आएको शम्भुशरण दुई रनमा दुई रन मात्र बनाउन सक्यो र बंगलामुखी १० रनले विजयी भयो ।
जितसँगै बगलामुखीले २० हजार नगद प्राप्त गरेको छ भने दोस्रो भएको शम्भुशरणले १० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका बगलामुखीका आकाश यादव म्यान अफ द म्याच घोषित भएका थिए भने फाइनल म्याचको स्ट्राइकर अफ द म्याच अमन यादव भएका थिए । साथै फाइनलको क्यास अफ द म्याच सलमान अलि भएका थिए । प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गरेर प्रतियोगिता भरि बलिङमा १४ विकेट लिएर र ब्याटिङमा ६० रन बनाएका बगलामुखीका आकाश यादव म्यान अफ दि सिरिज भएका थिए भने प्रतिगामी उत्कृष्ट ब्याटिङ गरेर १ सय ५२ रन बनाएका गौरीशंकर मावि गुलरिया नपा.११ डल्लापुरका शाहरुख खान उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए । साथै प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिएका फाइनल विजेता बगलामुखीका आकाश यादव उत्कृष्ट बलर घोषित भएका थिए ।

स्वर्गीय कृष्णप्रसाद बस्याल राकेशको स्मृतिमा जिल्ला क्रिकेट संघ बर्दियाद्वारा सञ्चालित प्रतियोगितामा जिल्ला भरिका १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । स्वर्गीय कृष्णप्रसाद बस्यालकी धर्मपत्नी निर्मला अधिकारी बस्याल र गुलरिया नगरपालिका–४ का वडा अध्यक्ष सुरेश गौतमले संयुक्त रुपमा फाइनल खेलका विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।

यस्ता प्रतियोगिताले खेलाडीलाई क्रिकेट खेलप्रति आकर्षण हुने र नयाँ प्रतिभाहरूको पहिचान पनि हुने जिल्ला क्रिकेट संघ बर्दियाका अध्यक्ष बिनयराज भण्डारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर