जब्दीघाटमा निःशुल्क काठको पुल सञ्चालन
मङ्गलबार, माघ २८, २०८२ मा प्रकाशित

यज्ञप्रसाद सापकोटा

बर्दिया,माघ २७/ केही महिना अघिदेखि जब्दीघाटमा पैसा तिरेर काठको पुल तर्न बाध्य स्थानीयले अहिले निःशुल्क पुल तर्न पाएका छन् ।
गुलरिया र बारबर्दिया नगरपालिका जोड्न बनाइएको काठको पुल सञ्चालनका लागि नगरपालिकाले लगानी गरेपछि सर्वसाधारणहरू निःशुल्क आवतजावत गर्न पाएका छन् ।

बारबर्दिया नगरपालिकाले नदीमा काठको पुल सञ्चालनका लागि रकम दिने सम्झौता गरेपछि सर्वसाधारण निःशुल्क पुल तर्न पाएका हुन् । माघ १५ गतेदेखि जेठ मसान्तसम्मको लागि नगरपालिकाले पुल सञ्चालन र मर्मत सम्हारका लागि ५ लाख दिने गरि सम्झौता गरेको छ । पहिला ठेकेदारसँग पैसा लिने गरि सम्झौता गरिएको थियो अहिले पुल सञ्चालन गरेवापत ठेकेदारलाई नगरपालिकाले पैसा दिने गरि सम्झौता गरिएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारूले बताए । सर्वसाधारणलाई आवत जावत गर्न सहज होस भनेर पुल निःशुल्क गराइएको उनले बताए । नदीको सतह कम भएपछि गत मंसिर देखि काठको पुल निर्माण गरिएको थियो ।

काठको पुल तर्नका लागि मानिसलाई १० रुपियाँ, मानिस र साइकललाई २० रुपियाँ मोटरसाइकल र मानिसको २५ रुपियाँ, अटो रिक्साको ५० रुपियाँ, हाँस र कुखुराको पाँच रुपियाँ, खसी बाख्राको १५ रुपियाँ र कृषकको मल बीउ र कृषजन्य उत्पादनको प्रतिक्विन्टल १० रुपियाँ ठेकेदारले शुल्क लिने गरेको थियो । नगरपालिकाले गत साउन महिना देखि माघ १५ गते सम्म ६ महिनाको लागि नदी तार्न करिब १८ लाखको लिने गरी ठेक्का सम्झौता गरेको थियो ।

माघ १५ सम्म सम्पूर्ण तयारी पुरा गरि नगरपालिकाले काठको पुल निःशुल्क बनाएको छ । काठको पुल तर्नको निःशुल्क बनाएपछि आवत जावत गर्न सहज भएको  बारबर्दिया नगरपालिका वडा नं ८ का यसु केसीले बताए । जब्दीघाटमा निर्माण भएको पक्कीपुल हस्तान्तरण नहुँदै २०७४ मा भासिएको थियो । २०७९ सालमा पुल पूर्णरुपमा क्षती भएपछि स्थानीहरू नदी तर्नका लागि सास्ती बेहोरीरहेका छन् । सरकारले अघिल्लो आर्थिक वर्ष देखि बजेट विनियोजन गरेपनि जब्दीघाटमा पुल निर्माणका लागि ठेक्का भएको छैन ।

चालु आर्थिक वर्षमा ११ करोड रकम विनियोजन भएपनि बहुबर्षे स्रोत सुनिश्चितता नभएको हुनाले ठेक्का प्रक्रियामा लैजान नसकिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्टले बताए । पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख रकम लाग्ने अनुमान गरिएको छ ।स्रोत गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर