गोदावरीमा दिवा सेवा केन्द्र बन्ने
शनिबार, चैत ०१, २०७६ मा प्रकाशित

ललितपुर, चैत १ : गोदावरी नगरपालिका वडा नं ३ मा आउँदो वैशाखदेखि दिवा सेवा केन्द्र निर्माणको काम अघि बढाइने भएको छ । ऐतिहासिक १२ वर्षे गोदावरी मेला हुने क्षेत्रको श्रीराम मन्दिर परिसरमा वृद्धवृद्धाका लागि केन्द्र निर्माण गर्न लागिएको हो ।

गोदावरीमा केन्द्रको अभाव भएसँगै गत फागुन २१ देखि २९ गतेसम्म ‘स्वर्णिम श्रीमद् भागवत भक्ति सत्संग महायज्ञ २०७६’ को आयोजना गरिएको थियो । भागवतमार्फत कथा श्रवण र केन्द्र निर्माणका लागि रकम संकलन पनि गर्ने उद्देश्य रहेको हुँदा यसलाई अघि बढाउन बीउ रकम उपलब्ध भएको राममन्दिर व्यवस्थापन समितिका अध्यक्ष ७८ वर्षीय गणेशबहादुर सिलवालले जानकारी दिए ।

उनले भने, ‘हामीले राममन्दिर निर्माण गरेर भजन कीर्तन गर्न थालेका १० देखि १२ वर्ष भयो । शुक्रबारसम्म यहाँ वरपरका वृद्धवृद्धाले जेजति धार्मिक सामूहिक काम ग¥यौँ त्यो सबै यहीबाटै हुने गथ्र्यो ।

दिनानुदिन आफूहरूको उमेर बढ्दै गएको र बल पनि घट्दै गएको हुँदा मन्दिरभित्रका सामग्री जतन गरेर राख्न व्यवस्थित स्थान तथा घाम ताप्ने कौशीको अभाव भइरहेको थियो । अब यो इच्छा पनि विस्तारै पूर्ण हुने भएकामा निकै हर्षित भएका छौँ ।’

उक्त केन्द्रमा वडावासीले भजन, कीर्तन, पूजापाठ, यज्ञलगायत धार्मिक काम गर्न पाउने भएकामा सिलवालले खुसी व्यक्त गरे । केन्द्र बनेपछि दैनिक आएर भजन कीर्तन गर्ने ६६ वर्षीय माधवप्रसाद उपाध्यायले बताए । उनले भने, ‘हामीसँग केही वर्ष पहिले श्रीराम मन्दिर भजन संगितालय पनि थियो । व्यवस्थित भवन अभावका कारण यसलाई लामो समय सञ्चालन गर्न सकिएन । मन्दिरमा हरेक सोमबार र महिनाको २८ गते सत्संग कार्यक्रम गर्ने गरेका थियौँ । केन्द्र निर्माणको काम अघि बढेपछि यसलाई केही समय रोक्नुपर्ने हुन्छ । वृद्ध अवस्था पार गरिरहेका हामीलाई घाम ताप्ने कौशी, तातो चिया तथा पानी र व्यवस्थित शौचालयको अभाव रहेको थियो त्यो अब सबै पूर्ण हुने विश्वास लिएका छौँ ।’

उमेरमा ६० कटेका र लौरोको भरमा हिड्नुपर्ने वृद्धवृद्धालाई केन्द्रले एकजुट हुन पाउने अवसर प्रदान गर्न लागेको उपाध्यायको बुझाइ छ । भागवतबाट केन्द्र निर्माण गर्न रसिदमार्फत लगभग ३२ लाख उठेको, १६ लाखको जिन्सी सामग्री सहयोग गर्न दाता तत्पर रहेको तथा भागवत श्रवणमा उपस्थित हुन नसकेका इच्छुक व्यक्तिले चार लाख सहयोग गर्ने वचनवद्धता व्यक्त गरिसकेका महायज्ञका अध्यक्ष मनोहर सिलवालले बताए ।

 

यसैगरी भागवतमा अर्को विषयतर्फ फ्रेमबाट ४० हजार, १८ जना वटुकको ब्रतबन्ध गरिदिए वापत तीन हजार १०० का दरले ५५ हजार ८०० र भागवतमा राखिएका ३५० वटा कलशबाट ६०० का दरले दुई लाख १० हजार गरी कूल तीन लाख पाँच हजार ८०० उठाउन सफल भएको महायज्ञका अर्का अध्यक्ष राज घिमिरेले जानकारी दिए ।

 

उनले भने, ‘केन्द्र निर्माणका लागि ललितपुर क्षेत्र नं १ सांसद नवराज सिलवालले सांसद विकास कोषबाट २५ लाख दिने घोषणा गरेको छ भने यसैगरी प्रदेशसभासदस्य लालकुमारी पुनले केन्द्रको भवन निर्माणमा लाग्ने रकम सबै आफूले उपलब्ध गराउने संकल्प गरेको छ ।’ केन्द्रको भवन साढे दुई तलाको निर्माण गर्ने योजनाअघि बढाएको अध्यक्ष घिमिरेले बताए ।

 

केन्द्रको भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइने भएको छ । तल्लो तलामा भजन, शौचालय, भान्छा र नुहाउने कक्ष रहने र माथिल्लो तलामा तल चारमाथि तीन गरी सात कोठा बनाउने उद्देश्य गरिरहेको महायज्ञका आर्थिक कमिटी संयोजक वसन्त सिलवालले बताए ।

राम मन्दिर हातामा करिब दुई रोपनी जग्गा छ । मन्दिर मुनि भिरालो ठाँउ भएको हुँदा ढलान गरेर अग्लो पर्खाल लगाउने, त्यसपछि बगँैचा र ठाउँठाउँमा कुण्ड पनि बनाउने सोच बनाइरहेको महायज्ञका सचिव राम बरालले बताए ।

बाँकी कामका लागि लाग्ने रकममा गोदावरी नगरपालिका र महायज्ञबाट ५०÷५० प्रतिशत रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । उक्त केन्द्रको निर्माण सम्पन्न पछि यदी कुनै व्यक्तिले बस्न पाइन भनेर गुनासो गरेमा उसलाई बस्न सम्मको व्यवस्था हुनुपर्ने माग गरिरहेको स्थानीय ७३ वर्षीय बलराम पौडेलले बताए । उनले भने, ‘ऐतिहासिक क्षेत्र गोदावरीमा टाढा टाढाबाट आउने भक्त, सन्त, महन्त र भिक्षुका लागि बस्ने स्थलको व्यवस्था हुनुपर्छ भन्ने सोच छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर