हेटौँडा, चैत १ : वागमती प्रदेश सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन मकवानपुरको चुरियामाईस्थित ऐतिहासिक सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी पुनः सञ्चालनमा ल्याउने भएको छ ।
नेपालमा पहिलो पटक एक शताब्दीअघि राणाकालमा मकवानपुरको चुरियामाईमा करिब ७ सय फिट सुरुङमार्ग बनेको थियो । अहिले यो बन्द अवस्थामा छ । यो सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी पुनः सञ्चालनमा ल्याउने बारे वागमती प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको छ ।
भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर परिसरमा निर्माण गरिन लागेको तत्कालीन नेपाली सेनाका बिगे्रडियर जनरल दिल्लीजंग थापाको प्रतिमास्थल तथा चुरियामाई सुरुङमार्गको शुक्रबार स्थलगत निरीक्षण गर्दै यो सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी पुनः सञ्चालनमा ल्याउने गृहकार्यमा प्रदेश सरकार लागिपरेको बताए ।
उनले सडक सञ्जाललाई छोटो, सजिलो, फराकिलो र सुरक्षित बनाउनका लागि वागमती प्रदेश सरकारले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सुरुङमार्ग र काठमाडौँको फर्पिङ चन्द्रज्योति विद्युत्गृहलाई निर्माण गरी सञ्चालनमा ल्याउने लक्ष्य लिएको पनि बताए ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले चुरियामाईमा निर्माण गरिएको सुरुङमार्गलाई अत्याधुनिक प्रविधिबाट १०३ वर्षअघि निर्माण गरी वीरगञ्ज–हेटौँडा–भीमफेदी हुँदै काठमाडौँसम्म पुग्ने यातायात सञ्जाललाई जोड्ने कार्यका लागि नेपाली सेनाका बिग्रेडियर जनरल थापा (सुरुङमार्ग विशेषज्ञ) को प्रत्यक्ष योगदान रहेको बताए ।
हेटौँडा उपमहानगरपालिकाको करिब १५ लाखको लागतमा ढलौटको अर्धकदको थापाको प्रतिमा निर्माण गर्न लागिएको हो ।