निःशुल्क मास्क र औषधि वितरण
बिहिबार, चैत १३, २०७६ मा प्रकाशित

मेलम्ची, चैत १३ : कोरोना भाइरसबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकाभर निःशुल्क मास्क वितरण शुरु गरेको छ । पहिलो चरणमा बुधबार नगरवासीलाई रोगको संक्रमणबाट जोगिन सहज बनाउने उद्देश्यले १२ हजार २०० निःशुल्क मास्क वितरण गरेको हो ।

वडा नं ८ मा एक हजार, वडा नं ५ मा दुई हजार र ११ स्वास्थ्य संस्थामा २०० का दरले निःशुल्क मास्क वितरण गरेको नगरपालिकाले जनाएको छ । बजारमा मास्कको अभाव बढ्दै गएपछि नगरपालिकाले आफ्ना नागरिकलाई मास्क खरिद गरेर वितरण थालेको हो । देशमा कोरोना भाइरसको जोखिमपूर्ण अवस्था छ, यसबाट बच्न पूर्वतयारीका लागि सबै नगरवासीलाई मास्क वितरण गरेका हौँ, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले बताए ।

मास्कसँगै नगरभित्रका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिसमेत वितरण गरिएको छ । नगर स्वास्थ्य शाखाको समन्वयमा औषधि वितरण गरिएको संयोजक शिव पुरीले बताए । त्यस्तै नगरपालिकाले आफ्ना नागरिकलाई भीडभाडमा नजान अपिल गर्दै बाहिरबाट भित्रिने नागरिकलाई पनि अनिवार्य मास्क प्रयोग गर्नसमेत अनुरोध गरेको छ ।

बजारमा मास्कको संकट भएका बेला नगरले वितरण गरेको मास्क अभियानले राहत प्रदान गरेको चौतारा साँगाचोकगढी नगरपालिका५ का वडाध्यक्ष नरमान श्रेष्ठले बताए ।

नगरले आज पनि मास्क वितरण अभियानलाई निरन्तरता दिने जनाएको छ । वडा नं ५ र सो वडाभित्रका स्वास्थ्य संस्थामा मास्क र औषधि वितरण गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर