फरकसमाचार संवाददाता
बर्दिया,फागुन १७ / लामो समय देखि अबरुद्ध गुलरिया मूख्य बजारको हुलाकी सडक धमाधम मापदण्ड विपरीत निर्माण भईरहेको छ । अन्य ठाउँमा करिब करिब हुलाकी सडक निर्माणको अन्तिम चरण रहेपनि अहिले गुलरिया पक्की हुलाकी सडक निर्माण भईरहेको छ । वन कार्यालय देखि शहिद गेटसम्म माटो फिलिङ नगरेर सडक निर्माण गरेपछि हुलाकी सडक आयोजना र निर्माण कम्पनीसँग स्थानीय रुष्ट भएका छन् ।
हुलाकी सडक निर्माणको क्रममा यस्ता सामान्य आधारभुत कुरामा ध्यान नदिएको पुष्टि भएको छ । कतै खाल्डा र उचो गराएर निर्माण कम्पनी आँखामा छारो हाल्ने काम गरिरहेको स्थानीय बताउँछन् । गुलरियामा निर्माण कम्पनीका सहजताका लागि एक साता देखि सडक प्रबेशद्धारमा अबरोध राखेर सवारी साधन रोकिएको छ । तर निर्माण कम्पनीले आवागमन ठप्प पारेर निर्माण भईरहेको हुलाकी सडक गुणस्तर यतिखेर प्रश्न चिन्ह खडा भईरहेको छ ।
गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव नेतृत्वमा रहेको प्राबिधिकले अनुगमन गर्दा माटो फिलिङ नगरेर सडक निर्माण गरिरहेको फेला परेको हो । यतिखेर वन कार्यालय हुदै शहिद गेट देखि जिप्रका चौक सम्म हुलाकी सडक निर्माण कार्य भईरहेको छ । कतै खाल्डो र उचो हुदा पानी जमेर पिच भत्कने खतरा बढेको स्थानीय बताउँछन् ।
बजारको सडकमा मापदण्ड विपरीत निर्माण भएमा स्वीकार्य नहुने नगर प्रमुख यादवले बताए ।‘हाम्रो आँखामा छारो हाल्ने काम निर्माण कम्पनीले गर्न भएन’उनले भने‘ईस्टिमेट अनुसारको मजबुत सडक निर्माण गर्न दबाब दिईरहेका छौ ।’ हुलाकी सडक निर्माण गर्दा ठेकेदारको लापरबाही गर्दा मापदण्ड मिचिएकोे छ ।
‘सरसर्ती हेर्दा मापदण्डमा धमाधम निर्माण गरिरहेको देखिन्छ’ आईतबार स्थलगत अनुगमनको क्रममा भेटिएका प्राबिधिकले भने,‘यसरी निर्माण भएको सडकको काम ईस्टिमेट बमोजिम छैन ।’ सडक हिलाम्य भएकाले माटोको मात्रा सडकमा बढि मिलाएको देखिएको उनले जानकारी दिए ।
स्थानीयले ठेकेदारले चलाखी पुर्ण तरिकाले सडक निर्माण गरिरहेको दाबी गर्छन् । डम्पिङ गरेर राखेका निर्माण सामाग्री स्थलगत वा मेशिनमा ल्याब परिक्षण गरेर बिछ्याउँने पर्ने नियम लत्याएको अर्का प्राबिधिकको आरोप छ । ‘यँहा एक पक्ष मात्र कमजोरी देखिदैन’ती प्राबिधिकले भने,‘साईड बसेका प्राबिधिकले हेरे ठकेदार कसरी छल्न सक्छ, हुलाकी सडक आयोजना चरम लापरबाही देखिएको छ ?’
उक्त १८ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सन कम्पनिले पाएको छ । उसले निर्माणको जिम्मा गणपति कन्स्ट्रक्सन कम्पनिलाई दिएको खुलेको छ । तर,जिम्मेवार निकाय पप्पु कन्स्ट्रक्सन कम्पनि र गणपति कन्स्ट्रक्सन कम्पनि सडक निर्माण क्रममा देखिएका निर्माणस्थलमा भेटिदैन । उँहाहरु फिल्डमा अहिले सम्म नदेखिएको सडक निर्माणमा कार्यरत एक कर्मचारीले बताए ।‘कम्पनिका जिम्मेवार व्यक्तिलाई हामीलाई पनि देख्न मन लागेको छ’उनले भने ।
अहिले बर्दियाका भुरिगाउँ–ढोढरी मधुवन नगरपालिका ८ नम्बर –मुर्तीहा, र ढोढरी–राजापुर सम्म हुलाकी सडकको निर्माण सम्पन्न भईसकेको छ । ५७ किलोमिटर सडक निर्माणको लागत ७९ करोड छ । तीन खण्डमा भईरहेको सडक निर्माण पहाडी जिल्ला कर्णालीसँग प्रत्यक्षरुपमा जोडिनेमा स्थानीय आशाबादी छन् । आर्थीक समृद्धि, सुरक्षा र व्यापरिक दृष्टिकोण तीन खण्ड सडक निर्माणले आर्थीक समृद्धिको मेरुदण्डको काम गर्ने स्थानीयको बुझाई छ ।
‘जिल्लाको समृद्धिसँग जोडिएको मार्गमा कसैवाट हुने लापरबाही मान्य हुदैन’गुलरियाको नगर प्रमुख यादवले भने,‘सरोकार निकाय समयमा अनुगमन नगरेको प्रतिफलले अहिले सडक निर्माणको त्रुटि फेला परेको छ ।’यसअघि अनुगमनको क्रममा मापदण्ड विपरित ठूला ठूला ढुंगा भेटिएको उनले दोहराए । सडकको तीनै खण्ड निर्माणको जिम्मा पप्पु, आशिष र शर्मा जेभी कम्पनीले पाएको छ । निर्माणाधिन खैरापुर देखि गुलरिया र सडकखण्डमा अधिकांश ठाउँमा मापदण्ड विपरीत काम भइरहेकोे पाईएको हो ।
सुरुमा भारत सरकारको रुचिअनुसार नै बन्ने भनिएको हुलाकी सडकको काम वर्षोसम्म हुन नसकेपछि नेपाल सरकारले हुलाकी सडक आयोजनामार्फत टेण्डर आह्वान गरेर काम अघि बढाएको हो । सन् २००४ मा भारत सरकारले हुलाकी राजमार्ग निर्माण गर्न प्रारम्भिक अध्ययन सुरु गरेको थियो । गत माघमा शिलान्यास गरेर हुलाकी निर्माण शुरु भएको थियो ।