पक्की घर पाएपछी वृद्ध आमाको मुहारमा छायो खुशी
शुक्रबार, चैत ०६, २०७७ मा प्रकाशित

दुर्गा आचार्य
बर्दिया,चैत्र ६ । मधुवन नगरपालिका —८ शिवनगरकी वृद्ध महिला २ कोठे पक्की घर पाएपछि खुशी भएकी छन् ।

लामो समय देखि जिर्ण चुहिने घरमा बस्दै आएकी वृद्ध लक्ष्मी घर्तिमगर लामो कष्टकर जीवन बिताईरहेकी थिईन् । आर्थिक अवस्था कमजोर भएका कारण लक्ष्मी बर्षामा चुहिने र गर्मीमा घामले पोल्ने छानो नभएको घरमा बस्न बाध्य थिईन् । उनको पीडा देखेर विकाश प्रेमी युवा समूह मधुवन नगर कमीटी, बिदेश विभाग शिवनगर युवा स्पोर्ट्स क्लब लगायत अन्य सामाजिक अभियानमा लागेका युवाहरुले २ कोठे ट्वाईलेट बाथरुम सहितको पक्कि घर बनाई हस्तान्तरण गरेका छन् ।

लामो समय देखि चुहिने झुपडीमा गरिब एकल असक्त वृद्ध आमा कष्टकर जीवन बिताई रहेको देखे पछि युवाहरु यस अभियानमा लागि पक्कि घर निर्माण गरि हस्तान्तरण गरेको विकाश प्रेमी युवा समूह मधुवन नगर कमिटीका अध्यक्ष राम बाबु सुवेदीले बताए । युवाहरुले स्वस्फुर्त रुपमा यस अभियानमा आ—आफ्नो क्षेत्रबाट सहयोग उपलव्ध गराएका कारण नै घर निर्माण सम्पन्न भई हस्तान्तरण गर्न सकिएको अध्यक्ष सुवेदीले बताएका छन् । २०७७ माघ ७ गते शिलान्यास गरिएको घर तिन महिना भित्र निर्माण सम्पन्न भएको हो ।

विदेशमा श्रम बेचेर कमाएको पैसाबाट केहि रकम बचत गरि युवाहरुले वृद्ध आमाको घर निर्माणका लागि सहयोग गरेका हुन् । यस अभियानमा मधुवनका स्थानीय युवाहरुले समेत रकम सहयोग गरेका छन् । एक भान्छा, सुत्ने कोठा र ट्वाईलेट बाथरुम सहितको व्यस्थित घर निर्माणका लागि ४ लाख २८ हजार ७ सय ४४ रुपैया लागत लागेको बताईएको छ ।

युवाहरुले घर निर्माण गरि वृद्ध आमालाई घर हस्तान्तरण गरेपछि असक्त वृद्ध लक्ष्मीको मुहारमा खुशी छाएको छ । युवाहरुले बर्षाै देखि सुरक्षित घरमा बस्ने वृद्ध लक्ष्मीको सपना पुरा गरिदिएपछि उनले युवाहरुलाई अर्शिवाद दिएकि छन् । यस अघि छाना चुहिने घरमा बस्दाको पीडा स्मरण गर्दै अहिले आफ्नो लागी युवाले घर बनाई दिएपछि लक्ष्मीको मुहारमा खुशी छाएको स्पष्ट देखिएको छ ।

युवाहरुले घर हस्तान्तरण कार्यक्रममा खर्च विवरण समेत पेश गरि आर्थिक पारदर्शिता देखिएका छन् । युवाहरुमा आउने यस्ता सकारात्मक सोँचले विपन्न र सहारा विहिनहरुलाई ठूलो राहत पुग्ने हुदा यस्ता अभियानमा युवाको सहभागिताले समुदायमा सकारात्मक संदेश जाने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर