बर्दिया, चैत ७ (फरकसमाचार)
खाता करिडोरमा रहेको पहाड जस्तो ब्रेकर शुक्रबार हटाईएको छ । मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रीको नेतृत्वमा ब्रेकर हटाईएको हो ।
गत फागुन २१ गते प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, नगर प्रमुख गाणेश क्षत्रि (कृष्ण), सप्रजिअ माधव शर्मा, सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावत, प्रहरी नायव उपरीक्षक हेम बहादुर शाही, प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठ र वन अधिकृत महेन्द्रराज वाग्ले लगायतको टोलीले वन्यजन्तु संरक्षणका लागि बनाईएको ब्रेकर अवलोकन गरेका थिए ।
उक्त ब्रेकर ज्यानमारा रहेको अनुगमनको टोलीले निष्कर्ष निकालेको थियो । मधुवन नगरपालिकाका नगर प्रमुख क्षेत्री, वडा अध्यक्ष नारायण मल्ल र स्थानीयसंगको छलफलमा सहमति जुटेपछि सुरक्षा समितिबाट ब्रेकर फाल्ने निर्णय भएको थियो ।
खाता करिडोरमा सामान्य खालको ब्रेकर राख्नेमा स्थानीयसँग सहमति जुटेको थियो । सोही सहमति अनुसार उक्त ठाउँका ब्रेकर हटाईएको छ । खाता करिडोरमा दश वटा पहाड जस्ता ब्रेकरले दुर्घटना र वन्यजन्तुबाट आक्रमणको जोखिम रहेको ठहर गर्दै ब्रेकर हटाईएको छ । सो क्षेत्रमा ब्रेकर हटाएपछि आवत जावत गर्न सजिलो भएको स्थानीयले बताएका छन् ।
त्यसैगरी खाता करिडोर क्षेत्रमा आवागमन गर्ने व्यक्तिमाथि बन्यजन्तुको आक्रमणको जोखिम कम भएको छ । ब्रेकरले गर्दा सो क्षेत्रमा दशको स्पीडमा मोटर चलाउन बाध्य भएका सवारी चालक अब खुसी भएका छन् ।