यज्ञप्रसाद सापकोटा
बर्दिया, चैत ८ / सुनचाँदी व्यवसायीहरुले सरकारले सुनचाँदी व्यवसाय तथा गुणस्तर मापन गर्नका लागि कायविधि नबनाउँदा मर्कामा परेको बताएका छन् । कार्यविधि नै नबनाई सुनचाँदी पसललाई रासन पसलको जस्तो अनुगमन र छापा मार्ने गरेको हुनाले उनीहरु आक्रोशित बनेका हुन् ।
गुलरियामा आयोजित सुनचाँदी व्यवसायी संघ बर्दियाको छैठौँ बार्षिक साधारण सभामा उनीहरुले सो कुरा बताएका हुन् । साधारण सभाका सहभागीहरुले सुनचाँदीको मापदण्ड कार्यविधि नै नबनाई सरकारले सुनचाँदी व्यवसायमा छापा हान्ने कारवाही गर्ने गलत भएको बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बुद्धि बहादुर विकले सरकारले २०६६ सालमा सुनचाँदी व्यवसाय सम्बन्धी कार्यविधि मापदण्ड ल्याउने सहमती भएपनि हाल सम्म नबनाएको बताए । उनले सुनचाँदी व्यवसायलाई चामल दाल पसलको जस्तो मापदण्ड अनुसार पसलमा छापा मार्ने गरेको बताए । उनले भने–‘१५ दिन भित्र कार्यविधि बनाउने र सो अनुसारको अनुगमन गर्ने सहमती भएपनि हाल सम्म बनेको छैन, कार्यविधि नै नभई के को आधारमा अनुगमन र छापा हान्छ सरकारले ।’ उनले सुनचाँदी व्यवसायलाई सरकारले फरक तरिकाले हेर्ने गरेको बताए ।
महासंघ लुम्बिनी प्रदेश अध्यक्ष विकले हाल सुन व्यवसायीलाई बेच्नका लागि सुन नै नभएको बताए । ‘सरकारले सुन आयात गर्न रोकेको छ,’उनले भने, ‘कोभिडको समयमा दैनिक १० किलो मात्र सुन आयात गर्ने गरेकोमा व्यवसाय सञ्चालन हुँदा समेत सरकारले अहिले सम्म कोटा बढाएको छैन ।’ कच्चा पदार्थको अभावले सुनचाँदी व्यवसायी मर्कामा परेको बताउँदै अध्यक्ष विकले सरकारले अझै पनि नसुनेमा देशभरीका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रीनु पर्ने बताए । उनले स्थानीय सरकारसँग इंकित गर्दै अझै पनि ६० प्रतिशत भन्दा बढि कालिगढ विदेशी रहेको बताउँदै स्थानीय स्तरमा नै दक्ष कालिगढ उत्पादनका लागि कार्यक्रमहरु ल्याउनु पर्ने बताए ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथी एवं बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले सुनचाँदी व्यवसायीलाई थप व्यवसायी हुनुपर्नेमा जोड दिएका छन् । उनले व्यवसायीहरु श्रृजनशिल, उद्यमशिल हुनु प¥यो, चुनौति मोल्न सक्नु प¥यो र लगानी गर्न सक्नु पर्ने बताए । उनले बताए ‘आजको युग भनेको व्यापार व्यवसायीको युग हो । परम्परागत ज्ञान सिपलाई श्रृजनशिलतामा बदलेर सुनचाँदी व्यवसायीहरुले विश्वमा आफ्नो कलाको व्यापार गर्न सक्नुपर्दछ ।’ उनले व्यवसायीहरुलाई निर्वाहमुखी भन्दा पनि व्यवसायी मुखी हुनुपर्ने बताए ।
बर्दिया “पुख्र्यौली गहनाको जगेर्ना गरौं । कला र संस्कृतिको संरक्षण गरौं, राष्ट्रलाई समृद्धि बनाऔं”। भन्ने मुल नारा सहित बर्दिया सुन चाँदी व्यवसायी संघको छैठौं वार्षिक साधारण गुलरियामा सम्पन्न भएको हो । संघका अध्यक्ष हर्के सुनारको अध्यक्षतामा भएको छैठौं वार्षिक साधारण सभामा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, नेपाल सुन चाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेश सभापति बुद्धि बहादुर बिक, भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति बर्दियाका सदस्य भक्त बहादुर बिक लगायतको उपस्थीती रहेको थियो । कार्यक्रममा पाँचजना स्वर्गीय सुन चाँदी व्यवसायीका परिवारका सदस्यलाई खादा र सम्मान पत्रले सम्मान गरिएको थियो ।