हात्तीपाइले आम औषधी २० गते देखि खुवाईदै
बिहिबार, चैत १२, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, चैत १२ / आठ वटै स्थानीय तहहरुमा चैत २० गतेबाट हात्तीपाइले आम औषधी सेवन अभियान सुरु हुदैछ । हात्तीपाइले विरुद्धको १० औं चरणको औषधी खुवाईने अभियान रहेको बुधबार संचारकर्मीहरुसंगको अन्तरक्रिय कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । जिल्लामा ४ लाख ६१ हजार ८ सय ५२ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । पहिलो दिन तोकिएको केन्द्रमा औषधी खुवाईनेछ ।

दोस्रो दिनबाट स्वास्थ्यकर्मी र महिला स्वयसेविका घर दैलोमा गएर औषधी खुवाउने छन् । जिल्ला भरी औषधी खुवाउने कार्यक्रममा ३ सय ३६ स्वास्थ्यकर्मी र ८ सय ४१ महिला स्वास्थ्य स्वयसेविका खटाईने जानकारी दिए ।

गत माघमा ठाकुरबाबा नगरपालिकाको डुम्रेनी र बारबर्दिया नगरपालिकाको बैदाबैदीमा तीन÷तीन सयमा परीक्षण गर्दा पाँच÷पाँच जनामा हात्तीपाइले रोगको परजीवी पाइएको थियो ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म आम औषधी सेवन मार्फत विश्वबाट यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।
हात्तीपाइले रोगका परजिवी लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले घर र वरपर सफा राख्नुपर्ने, राति सुत्दा झुलको प्रयोग गर्नुपर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने प्रमुख गिरीले बताए । समाजमा हात्तीपाइले औषधीको सेवन नगर्ने गलत धारणा रहेको छ । हात्तीपाइले आम औषधीले कुनै पनि किसिमको साइडइफेक्ट नगर्ने प्रमुख गिरीले बताए ।

खाली पेटमा सेवन गरेमा कसै कसैलाई वाक वाकी लाग्ने, बान्ता हुने, रिगटा लाग्ने हुन सक्छ । खाना खाएर वा नास्ता खाएर आम औषधीको सेवन गर्ने बताए । दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी र सिकिस्त बिरामीलाई औषधी सेवन गर्न नदिने जनाए । हात्तीपाइले रोगलाई निवारण गर्न सबैले आ–आफ्नो पयाक पर्ने स्थानमा गएर औषधी सेवन गर्न प्रमुख गिरीले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर