महिलालाई प्रलोभनमा पारी भारत लैजाने एजेन्ट पक्राउ
आइतबार, चैत १५, २०७७ मा प्रकाशित

बर्दिया, चैत १५ (फरकसमाचार) / महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी भारत लगेर बेच्न नेपालको तर्फबाट एजेन्ट रहेका सेखर बहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन १६ गते मधुवन नगरपालिका–७ बाट दुई जना महिलालाई भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका–१ जनमोहन चोक बस्ने २५ वर्षिय कन्हैयालाल यादव रहेका थिए । प्रहरीले दुवै महिला र यादवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा नेपालबाट भारतको दिल्ली हुदै खाडी मुलुक ओमान पठाईदिने खुलेको थियो । यसरी ललाई फकाई भारत लगे वापत प्रति महिला रु पाँच हजार पाउँने खुलेको छ ।

प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान कार्य अघी बढाउदा नेपालको तर्फबाट सो अपराधिक कार्यको मुख्य एजेन्टलाई पक्राउ गरेको छ । मुख्य एजेन्टको रुपमा जिल्ला झापा शिव सताक्छी नगरपालिका–११ बस्ने ४४ वर्षिय सेखर बहादुर सुनुवारलाई प्रहरीले काठमाण्डौंबाट शुक्रबार पक्राउ गरेको छ । सुनुवार महिलाहरुलाई विभिन्न किसिमका प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुको संलग्नतामा भारततर्फ पठाउदै आएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया र महानगरीय अपराध महाशाखा काठमाण्डौको संयुक्त टोलीलले काठमाण्डौं महानगरपालिका–१३ शान्तिनगरमा लुकिछिपी बसिरहेको अवस्थामा सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । सुनुवारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बर्दियामा ल्याई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर