बर्दिया, ३ (फरकसमाचार) / विभिन्न कसुरमा संलग्न रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी कसुरमा संलग्न रहेका अभियुक्त ८ वर्षपछि पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका बस्ने २७ वर्षिय आरिफ जागालाई प्रहरीले पक्राउ गरेको हो । ०६९ साल पुस २१ गते जागा करणी घटनामा संलग्न रहेका थिए । उनी घटनापछि फरार रहेका थिए । बर्दिया जिल्ला अदालतले ०७४ साल जेठ ४ गते ८ वर्ष कैद सजाय सुनाएको थियो । त्यसैगरी बाँके जिल्ला अदालतले थप १ वर्ष कैद सजाय सुनाएको थियो । ९ वर्ष कैद सजाय पाएका जागा फरार रहेका थिए ।
प्रहरीले लामो समयको अनुसन्धानपछि जागालाई ०७७ साल चैत ३१ गते बाँसगढी नगरपालिकामा रहेको काठमिलबाट पक्राउ गरेको हो । जागा आफ्नो नाम परिर्वतन गरी काठको मिलमा काम गरिरहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मैनापोखरबाट प्रहरी निरीक्षक धर्मराज जोसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जागालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार करणी कसुरका जागा ८ वर्ष सुर्खेतको विभिन्न ठाउँमा काम गरी बसेको खुलेको छ ।
बहुविवाह मुद्दाकी अर्की फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ०७७ साल पुस १९ गते जिल्ला अदालतले १० महिना १४ दिनको कैद सजाय फैसला गरेको थियो । सजाय तोकेको दिन देखि फरार रहेकी बारबर्दिया नगरपालिका–११ बस्ने ३० वर्षिय कान्ती थारुलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।
त्यसैगरी चोरी मुद्दाका अर्का फरार प्रतिवादी पक्राउ परेका छन् । ०७४ साल जेठ १७ गते जिल्ला अदालतले २४ दिनको कैद सजाय सुनाएको थियो । सजाय तोकिएको दिनदेखि राजापुर नगरपालिका–१० कालाबन्जर बस्ने २१ वर्षिय संजित थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरि जिल्ला अदालतमा उपस्थित गराई सजाय भुक्तान गर्न जिल्ला कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।