बर्दियामा थप एक कोरोना संक्रमितको मृत्यु
आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख ५ (फरकसमाचार) / थप एक जना कोरोना संक्रमित महिलाको आज मृत्यु भएको छ । गेरुवा गाउँपालिका–४ की ५२ वर्षिय महिलाको मृत्यु भएको हो । महिलाको दिउसो ३ः५५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृतक महिलालाई चैत ३१ गते अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसैगरी शनिबार राजापुर नगरपालिका–१ का ७३ वर्षिय पुरुषको पनि मृत्यु भएको थियो । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा बर्दियाका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालले ८१ जनाको पिसिआर गर्दा ७५ जनामा कोरोना पुष्टि भएको जनाएको छ । जसमा बर्दियाका ८ जना रहेका छन् । गुलरिया नगरपालिका–५ की १५ वर्षिय किशोरीमा र ६८ वर्षिय पुरुषमा, वडा नं. ६ का ६१ वर्षिय पुरुषमा र ५५ वर्षिय पुरुषमा, वडा नं. १० का ३० वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।

त्यसैगरी बढैयाताल गाउँपालिका–१ की १८ वर्षिय किशोरीमा, मधुवन नगरपालिका–४ की ६० वर्षिय महिलामा र राजापुर नगरपलिका–४ का २३ वर्षिय पुरुषमा भाइरस पुष्टि भएको हो ।

जिल्लामा हालसम्म संक्रमणको संख्या १ हजार ६ सय ६९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८८ पुगेको छ भने मृतकको संख्या २३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर