बर्दिया, बैशाख १० (फरकसमाचार) / बारबर्दिया नगरपालिकाका बालबालिकाले माग गरेको योजनालाई स्थानीय योजना तर्जुमा प्रक्रियामा समाबेश गर्नका लागि बाल सम्मेलन भएको छ । बारबर्दिया नगरपालिका–१० को आयोजना र प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस सुर्खेत तथा बाँके युनेस्को क्लबको सहकार्यमा बाल सम्मेलन भएको हो ।
‘बाल संरक्षण परियोजना’ अन्तरगत स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिकाको आवाज सुनिश्चित गर्नका लागि बाल सम्मेलन भएको हो । बारबर्दिया नगरपालिका–१० का वडा अध्यक्ष निरञ्जन कुमार चौधरीले यस बर्षकोे योजना तर्जुमा प्रक्रिया बालमैत्री बनाउने बताए ।
बालबालिकाहरुले उठाएको मागहरुलाई आफ्नो वडा तथा नगरस्तरमा समेत पुर्याउने प्रतिबद्धता जनाए । वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरिरहेकोले बालबालिकाहरुलाई आ–आफ्नो संजाल तथा क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर बिकले बालबालिकाहरुको आवाज पनि योजना तर्जुमा प्रक्रियामा समाबेश गर्नु पर्ने बताए । उनले स्थानीय जनप्रतिनिधि तथा बालबालिका बिच छलफल गराउन सम्मेलनको आयोजना गरेको जानकारी दिए ।
सम्मेलनको सहजीकरण अधिबक्ता राजकुमार थारुले गरेका थिए । सम्मेलनमा बालक्लबका पदाधिकारी तथा सदस्यहरु गरि जम्मा २० जना बालबालिकाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन बाँके युनेस्को क्लबका सुपरभाईजर जनक चौधरीले गरेका थिए ।