‘एक न एक दिन ऋण तिर्न कसो नसकिएला र ?’
सोमबार, साउन ०६, २०८२ मा प्रकाशित

बर्दिया,साउन ५

जय यादव

परिवारको आर्थिक अवस्था नाजुक भएकाले सानै उमेरमा घर छोड्न बाध्य बनेँ । पाँच वर्षको उमेरमा घर–परिवार छोडेर पढ्नलाई अरूको घरमा काम गरेर बस्दाको क्षण ज्यादै पीडादायी थियो । तर, सानैदेखि घरबाहिर बसेर गरेको मिहिनेतले आज खुसी दिएको छ । सायद घर नछोडेको भए पढ्न पनि सक्थिनँ होला । अनि सीप सिकेर व्यवसायी पनि बन्थिनँ होला ।

गुलरिया नगरपालिका–७ गुलरिया गाउँमा अहिले बसोबास छ । यहाँ बस्न थालेको ९ वर्ष भयो । मेरो परिवारसँग घरबासबाहेक अन्य जग्गा थिएन । बुवाले ज्याला मजदुरी गर्नु हुन्थ्यो ।

घरको कमजोर आर्थिक स्थिति र गाउँको माहोलले छोरा पढाउन सक्दिनँ कि भन्ने सोच बनाएर बुवाले गुलरिया बजारस्थित एक जनाको घरमा मलाई राख्नु भयो । म पनि सहजै स्विकार गरेर काम गर्न बसेँ । पढ्न र सीप सिक्नका लागि भए पनि १८ वर्ष अरुकै घरमा बास भयो ।

घरको जेठो छोरा भएकाले घरको स्थिति कहिले सुधार गर्न सक्छु भनेर साह्रै चिन्ता लाग्थ्यो । वि.सं. २०७० मा एसएलसी दिएँ । त्यसलगत्तै बर्दिया सुनचाँदी व्यवसायी संघमा काम सुरु गरेँ । गुलरिया बजारमा रहेका सुनचाँदी पसलमा दैनिक दरभाउ बाँड्ने काम गरेर २ वर्ष बिताएँ । प्लस टू पढ्दा पढ्दै देशमा बेरोजगारीको स्थिति देख्दा जिन्दगीमा कुनै न कुनै सीप सिक्न आवश्यक रहेको बुझेँ ।

त्यसपश्चात् गुलरिया बजारस्थित अफताव जसगढको सुनचाँदी पसलमा केही वर्ष काम सिकेँ । सुनचाँदी व्यवसाय महँगो व्यवसाय भएकाले सीप सिके पनि आफूसँग व्यवसाय गर्न लगानी भएन । लगानीको खोजीमा धेरैतिर भौंतारिएँ ।

आर्थिक स्थिति कमजोर भएका कारणले कतैबाट कुनै उपाय नलागेपछि भएको घरबास पनि बैंकमा धितो राखी १५ लाख ऋण निकालेँ । प्रक्रिया पुर्‍याइ गुलरिया नगरपालिका–६ हुलाक चोकमा न्यु बागेश्वरी सुनचाँदी पसल खोलेँ । आफ्नै पसल संचालन गरेको पनि ३ वर्ष पुग्यो । गुलरिया बजारस्थित सबैभन्दा कान्छो सुनचाँदी व्यवसायी मै हुँ ।

कम पुँजीको व्यवसायी भएकाले धेरै गरगहना तयारी अवस्थामा पसलमा राख्न सकिएको छैन । तर, ग्राहकले अर्डर गरेअनुसार भनेको बेला भने चित्त बुझ्दो गरगहना तयार गरेर दिएको छु । अझैसम्म पसलबाट कोही ग्राहक निराश भएर फर्किन नपर्दा आत्मसन्तुष्टि मिलेको छ ।

सुनचाँदीको मूल्य अकाशिएकाले जसोतसो व्यवसाय चलिरहेको थियो । त्यसमाथि आर्थिक वर्ष ०८२/८३ देखि लागू हुने गरी सरकारले सुनमा २ प्रतिशत विलासिता कर र बहुमूल्य हीरा पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको छ । यसले गर्दा उपभोक्तामाथि आर्थिक भार पर्नुका साथै हामी व्यवसायी र कालीगढ पनि मर्कामा परेका छौं ।

सुनमा लगाइएको विलासिता कर र हीरा पत्थरमा लगाइएको कर खारेजीको माग गर्दै दुई साता पसल बन्द गरेर विरोध गर्दासमेत आश्वासनबाहेक कुनै सुखद खबर सुनिएको छैन ।

बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म पसलमा खट्छु । अचेल व्यापारमा गिरावट आएको छ । ७ जनाको परिवार छ । बुवा, आमा, बुढाबुढी हामी र दुई छोरा छन् । भाइको विवाह भएको छैन । भाइ दुई वर्ष खाडी मुलुकमा बिताएर आएको थियो, अस्ति फेरि उतै गयो । भाइले पनि कमाएर अहिलेसम्म सघाइरहेको छ ।

पसलबाट मासिक ४० देखि ५० हजार रुपैयाँसम्म कमाइ गर्छु । जसमा बैंकको किस्ता र व्याज गरी मासिक २२ हजार रुपैयाँ बुझाउनुपर्छ । पसल भाडा मासिक ११ हजार र विद्युत्‌को २ हजार बुझाउँछु । त्यसैगरी पसलमा चिया–नास्ता पनि खानै पर्‍यो । मुख बाँधेर पसलमा दिनभरि बस्न सकिँदैन । चिया नास्तामै मासिक ३ हजार न्यूनतम खर्च भइहाल्छ ।

ठूलो छोरा बोर्डिङमा केजीमा पढ्छ । छोराको तीन हजार मासिक फिस तिर्नुपर्छ । चामल, दाल, नुन, तेल, सरफ, साबुन, तरकारी, मसला र लत्ताकपडा गरी मासिक १० हजार रुपैयाँ घरखर्च लाग्छ । दुई भाइको कमाइबाट चार कोठाको घर जोडेका छौं । त्यसैगरी अघिल्लो वर्ष बहिनीको विवाह गर्‍यौं । अझै बैंकको १४ लाख ऋण तिर्न बाँकी नै छ । ऋण कहिले तिरेर सकिने हो भन्ने पिर लाग्छ । कर्ममा विश्वास गरी बिहानदेखि साँझसम्म पसलमै खटिरहेको छु । एक न एक दिन ऋण तिर्न कसो नसकिएला र ? (प्रस्तुति : रामप्रसाद चौहान,कान्तिपुर)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय