‘लगानी थपेर पसल ठूलो बनाउन पुँजी छैन, कसरी प्रतिस्पर्धा गर्नु ?’
आइतबार, कार्तिक २४, २०८२ मा प्रकाशित

धीरेन्द्र मिश्रा

बर्दिया,कार्तिक २३/ जन्म अन्तै भए पनि कर्मले बर्दियासम्म डोर्‍याएको हो । रौतहटको राजदेवी नगरपालिका–४ वसन्तपुरमा जन्मिएको हुँ । त्यहाँबाट बसाइँ सरेर आएर अहिले गुलरिया नगरपालिका–७ गुलरिया गाउँमा बसोबास गरेको छु । अहिले म ५३ वर्षको भएँ । यहाँ आएको पनि ३७ वर्ष भइसक्यो ।

हाँसखेलबिनै बाल्यकाल बित्यो । हाम्रो परिवार ठूलो थियो । ६ भाइ, दुई बहिनी थियौं । तर, आर्थिक अवस्था कमजोर भएकाले उच्च शिक्षा पढ्न पाइनँ । कक्षा १० सम्म पढ्ेँ । जग्गा–जमिन नभएकाले खेतीपाती हुन्थेन । बुवा पुरेत्याइँ गर्नुहुन्थ्यो । त्यही क्रममा जजमानीबाट ल्याएको रासनले हाम्रो गुजारा चलिरहेको थियो । जसोतसो घर व्यवहार चलिरहेका बेला २०४५ सालमा बागमतीमा आएको बाढीले हाम्रो घर सबै बगाइदियो ।

मेरो दाइ विद्युत् प्राधिकरणको गुलरिया कार्यालयमा जागिर गर्नुहुन्थ्यो । उहाँ गुलरियामा भाडामा बस्नुहुन्थ्यो । दाइको जागिर भएकाले म पनि यतै आएँ । मैले पनि जागिर खान धेरै प्रयास गरे पनि सम्भव भएन । त्यसपछि वि.सं. २०४७ सालदेखि गुलरिया बजारमा बिजुलीका समान बेच्ने पसल सुरु गरेँ । पसल सुरु गरेको पनि ३५ वर्ष पुग्यो ।

गुलरिया नगरपालिका–६ मा मेरो रूपा बिजुली पसल छ । पसलमा बिजुली बत्तीका सम्पूर्ण सामग्री राखेको छु । काम मिल्यो भने मर्मत पनि गर्छु । पहिला बिजुली बत्तीका सामान बेच्ने धेरै पसल थिएनन् । सानो पसल गरे पनि गुजारा चल्थ्यो । अचेल त्यस्तो छैन । प्रतिस्पर्धा धेरै छ । लगानी थपेर पसल ठूलो बनाउन आफूसँग पुँजी छैन । बिजुलीको काम गर्ने पनि धेरै भए । जसका कारण पहिलाजस्तो कमाइ छैन । गर्मीमा पंखा मर्मतका छिटफुट काम मिल्थ्यो र अलि सहज हुन्थ्यो । अब जाडो सुरु भइसकेको छ । पसलमा त्यति काम हुँदैन । अहिले त दिनभरि ग्राहक कुरेर साँझ खाली हात घर फर्किने मात्र काम भइरहेको छ । दुई–तीन दिनसम्म बोहनीसमेत हुँदैन ।

आफूले पढ्न नपाए पनि बच्चालाई पढाउने ठूलो इच्छा थियो । त्यो इच्छा पूरा गर्न दिनरात मिहिनेत गरेँ । ठूली छोरीलाई कक्षा १२ र माइली छोरीलाई ल्याब टेक्नेसियन पढाएँ । दुईवटै छोरीको विवाह भइसकेको छ । छोरा कमाउने भएको छैन । घर–परिवार चलाउने जिम्मेवारी मेरै काँधमा छ । जसोतसो गरी छोरालाई पढाइरहेको छु । अहिले छोरा मधुवन ढोढरीस्थित इलेक्ट्रिक इन्जिनियर कलेजमा तीनवर्षे कोर्स गर्दैछ । छोराको पढाइ पूरा भएपछि खर्चको चाप कम हुन्छ होला ।

१० वर्षअघि तरकारी किन्न हाट बजार गएको बेला लडेर खुट्टा भाँचिएको थियो । त्यतिबेला औषधि गर्न डेढ लाख खर्च भएको थियो । अस्ति पनि करिब एक महिना बिरामी भएर थाला परेको थिएँ । समय–समयमा बिरामी भइरहन्छु । सुगरको औषधि नियमित खाइरहेको छु । अन्य काम गर्न सक्दिनँ ।

सम्पत्तिका नाममा १२ धुर घरवास मात्र छ । पसलबाट मुस्किलले मासिक आठ/दस हजार कमाइ हुन्छ । कुनै महिना त्यो पनि हुँदैन । पसलको भाडा र विद्युत् बिल गरी मासिक २ हजार २ सय रुपैयाँ तिर्नुपर्छ । कमाइ नभएर ८ महिनादेखि पसलको भाडासमेत तिर्न सकेको छैन । कमाइ नभए पनि साँझ बिहान हातमुख जोड्न ऋणसापट गरेर चलाउनुपर्छ ।

घरमा छोरा र हामी बुढाबुढी गरी तीन जना छौं । चामल, दाल, नुन, तेल, तरकारी, ग्यास, सर्फ, साबुन लगायतमा मासिक आठ/दस हजार खर्च भइहाल्छ । बच्चाहरूलाई पढाउन लागेको १० लाख ऋण तिर्न सकिए छैन । टाउकोमा ऋणको भारी बोकेर हिँडेको छु । त्यो भारी कसरी उतार्ने भन्ने तनाव भइरहेको छ । ऋण तिर्ने कुनै उपाय नलागेपछि भएको घरसहितको घडेरी बेच्न खोजेको छु । तीन वर्षदेखि त्यही घडेरी पनि बेच्न खोज्दा कुरा नमिलेर बिकेको छैन ।(प्रस्तुति : रामप्रसाद चौहान,ईकान्तिपुर)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय