बैतडी, वैशाख १२ : चैत महिनामा भारतबाट फर्केका नागरिकहरुको बैतडीमा र्यापिड डाइग्नोस्टिक (आरडिटी) टेस्ट शुरु गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्ला संयन्त्रको बैठकको निर्णयानुसार डिलाशैनी गाउँपालिका र दोगडाकेदारमा र्यापिड टेस्ट शुरु गरिएको हो ।
प्रत्येक वडाका स्वास्थ्य संस्थामा भारतबाट आएका व्यक्तिको र्यापिड डाइग्नोस्टिक टेस्ट शुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि यस्तो कार्य शुरु गरिएको हो ।’
अहिलेसम्म जिल्लामा ७०० भन्दा बढी नागरिकको र्यापिड डाइग्नोस्टिक टेस्ट र थ्रोट स्वाब सङ्कलन गरेर कोरोना परीक्षण गरिएको छ । अहिले उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । चैत महिनामा जिल्लाभरि चार हजार ८२२ नागरिक भारतबाट फर्केका छन् ।
दशरथचन्द नगरपालिकामा ५३१, पुर्चौंडी नगरपालिकामा ३४३, मेलौली नगरपालिकामा ४४९, पाटन नगरपालिकामा ४८२ र सुर्नया गाउँपालिकामा ४०५ नागरिक भित्रिएका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा २६५, दोगडाकेदार गाउाँपालिकामा ४०१, पञ्चेश्वर गाउँपालिकामा ८९५, सिगास गाउँपालिकामा १३९ र शिवनाथ गाउँपालिकामा ९१२ जना भित्रिएका बताइएको छ । गत चैत १० गतेअघि जिल्ला भित्रिएका कोही पनि क्वारेन्टाइनमा बसेका छैनन् भने उनीहरुको स्वास्थ्य परीक्षण पनि भएको थिएन् ।
अन्य पालिकाहरुमा थप किट आउने बित्तिकै र्यापिड टेस्ट शुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले जिल्लामा ९०० किट मात्रै रहेको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । प्रदेशमा पनि किटको अभाव रहेको र केन्द्रबाट आएपछि मात्रै अन्य पालिकाहरुमा र्यापिड टेस्ट शुरु गरिने जनाइएको छ ।