बर्दिया, फागुन २८ (फरकसमाचार) / पछिल्लो सयममा बाघको आक्रमण दिनहु बढ्दै गएको छ । बिहीबार गेरुवा गाउँपालिका–१ बनखेत बस्ने ३५ वर्षिय सरोज कार्कीलाई बाघले आक्रमण गरी घाइते बनाएको हो ।
बेसावर छाउनि मध्यवर्ती सामुदायिक बनबाट गोरु लिएर फर्किने क्रममा एक्कासी पछाडिबाट कार्कीलाई बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गर्दा कार्कीको दुबै हात र ढाडको बायाँ तर्फ कोतारी घाइते बनाएको हो । प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारपछि अहिले कार्की घर फर्केका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बिहीबार राति मधुवन नगरपालिका–२ भगरैयामा टोप बहादुर चौधरीको गोठमा बाँधीएका दुई वटा गोरुलाई बाघले मारेको छ ।
बुधबार मधुवन नगरपालिका–३ की रेनुका सुनार घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरी ज्यान गएको थियो ।
अघिल्लो साता राजापुर नगरपालिका कालाबन्जरका ६५ वर्षिय लालबहादुर थारुलाई भैंसी चराउन गएको बेला बाघले झम्टेर बेपत्ता पारेको थियो । बेपत्ता थारुको शवको कम्मर देखि तलको भाग खाईसकेको अवस्थामा फेला परेको थियो ।
त्यसैगरी गत पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाईकलमा सवार कैलालीकी एक महिलाको झम्टेर बाघले ज्यान लिएको थियो । यस आर्थिक वर्षमा आठ जना मानिसको बाघ आक्रमणबाट मृत्यु भईसकेको छ ।