बर्दिया, फागुन २९ (फरकसमाचार) / गएराति २ बजेको समयमा गेरुवा गाउँपालिका–४ खल्लागाउँ बाघले गोरु खाएको छ । देवी चुनाराको गोठमा बाँधेको गोरु मारी पाँच सय मिटर टाढा लगेर खाएको प्रहरीले जनाएको छ ।
बाघको आतंक बढ्दै गएकोले बनक्षेत्रमा प्रवेश नगर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ । मध्यवर्ती क्षेत्रमा रात्रीको समयमा पैदल यात्रा, साईकल तथा मोटरसाईकलमा यात्रा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ ।
बुधबार मधुवन नगरपालिका–३ की रेनुका सुनार घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरी ज्यान गएको थियो । अघिल्लो साता राजापुर नगरपालिका कालाबन्जरका ६५ वर्षिय लालबहादुर थारुलाई भैंसी चराउन गएको बेला बाघले झम्टेर बेपत्ता पारेको थियो । बेपत्ता थारुको शवको कम्मर देखि तलको भाग खाईसकेको अवस्थामा फेला परेको थियो ।
त्यसैगरी गत पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाईकलमा सवार कैलालीकी एक महिलाको झम्टेर बाघले ज्यान लिएको थियो । यस आर्थिक वर्षमा आठ जना मानिसको बाघ आक्रमणबाट मृत्यु भईसकेको छ ।