राम प्रसाद चौहान
बर्दिया, चैत २ / राजापुर नगरपालिका–१० लालपुर स्थित दुई मोटरसाईकल एकआपसमा ठोकिदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज दिउसो ३ बजेको समयमा मनाउ तर्फ जादै गरेको र विपरीत दिशाबाट आउदै गरेको अवस्थामा दुई मोटरसाईकल एकआपसमा ठोकिएका हुन् ।
दुर्घटना हुदा गेरुवा गाउँपालिका–३ बस्ने ३२ वर्षिय टपेश सोडारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मधुवन नगरपालिका –६ बस्ने गाउँ नम्बर २ बस्ने २० वर्षिय रोशन पुन मगरले चलाएको भे ६ २४०८ नम्बरको मोटरसाईकल र गेरुवा गाउँपालिका–३ का टपेश सोेडारीले चलाएको से ७ प ५६९३ नम्बरको मोटरसाईकल एकआपसमा ठोकिएका हुन ।
सोडारीको टाउकोमा गहिरो चोट लागेको र उपचारको क्रममा जिल्ला अस्पताल गुलरियामा साँझ ४ बजेर ३४ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । मगरको हात र खुट्टामा सामान्य चोट लागेको छ भने सोही मोटरसाईकलमा सवार मधुवन गाउँ नम्बर २ बस्ने १८ वर्षिय मदन गुरुङ्ग, गगन अधिकारीको खुट्टामा चोट लागेको छ ।
गुरुङ्गलाई उपचारको लागि नेपालगंज लगिएको छ भने मगर र अधिकारीको स्थानीय मेडिकल तिलगंगामा उपचार भईरहेको छ । दुवै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।