ज्ञानेन्द्र पोख्रेल
बर्दिया, चैत ८ / मैनापोखर बजारवासीहरुको माग अनुसार मैनापोखर ईलाका प्रहरी कार्यालयले बजारमा प्रहरी बिट स्थापना गरेको छ । लामो समय देखीको माग अहिले सम्बोधन गरेको स्थानीयले बताएका छन् ।
पहिला देखि मैनापोखर बजारमा प्रहरी बिट स्थापना गरी २४ सै घण्टा प्रहरी डियुटी राखिनु पर्ने स्थानीयले माग गरेका थिए । ईलाका प्रहरी कार्यालय मैनापोखरमा धेरै प्रहरी निरीक्षक प्रमुखको रुपमा आए गए तर माग सम्बोधन भएको थिएन ।
बढैयाताल गाउँपालिकाको केन्द्र मैनापोखर बजार रहेको र बजार व्यवसाय पनि बढ्दै गएकोले आवश्यकताको महसुस गरी शान्ती सुरक्षा कायम राख्ने उदेश्यले प्रहरी बिट स्थापना गरेको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिए । मैनापोखरमा रहेको सिटिजन्स बैंकको सौजन्यमा फलामको बिट निर्माण गरी प्रहरी बिट स्थापना गरिएको जोसीले बताए । प्रहरी निरीक्षक जोसीका अनुसार बिटमा प्रहरी हवल्दारको कमाण्ड २४सै घण्टा डिउटी खटाइने छ ।
बिट स्थापना भएसंगै स्थानीय र व्यापारी खुसी भएका छन् । त्यसैगरी उद्योग वाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछानेले प्रहरीले गरेको सराहनिय कामको प्रशंसा गरेका छन् ।