बर्दिया, चैत १० (फरकसमाचार)
कोरोना भाइरस भारत तथा तेस्रो मुलकमा तिब्र रुपमा बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय बर्दियाले भीडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले सोमबार बिज्ञाप्ती जारी गरी जिल्ला भित्र कुनै प्रकारका राजनीतिक भेला, गोष्ठि, सभा, सम्मेलन, महोत्सव, खेल गतिविधिमा समेत रोक लगाएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरण गर्न स्थानीय तह, संघ संस्था, राजनीतिक दल, नागरिक समाज र संचारकर्मीलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न जिल्ला प्रशासनले अनुरोध गरेको छ ।
भारत तथा तेस्रो मुलुकबाट आउने व्यक्तिहरुलाई १० दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरस महामारी फैलिने क्रम बढेपछि सावधानी अपनाउन जरुरी छ । कोरोना भाइरस न्युनिकरणमा सहयोग गर्न सामाजिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क लगाउन, नियमित रुपमा साबुन पानीले हात धुन वा स्यानीटाइजरको प्रयोग गर्न आम नागरिकमा विज्ञाप्ती मार्फत अनुरोध गरिएको छ ।
बर्दियामा हालसम्म १४ हजार ७ सय ९८ जनाको स्वाव परीक्षण गर्दा १ हजार ५ सय ६७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । १ हजार ५ सय ८ जना निको भईसकेका छन् । ६ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ । सक्रिय संक्रमितहरु होमआइसोलेसनमा रहेका छन् । हालसम्म १९ जनाको कोरोना संक्रमणको कारणबाट मृत्यु भईसकेको छ ।