बर्दिया, चैत १३ (फरकसमाचार) / गुलरिया नगरपालिका स्वास्थ्य शाखाले ७२ हजार १ सय ८१ जनालाई हात्तीपाइले आम औषधी खुवाउने लक्ष्य रहेको शाखा प्रमुख सुनिल पाण्डेले जानकारी दिए । चैत २० गतेबाट हात्तीपाइले आम औषधी सेवन अभियान सुरु हुने गुलरिया नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
हात्तीपाइले विरुद्धको १० औं चरणको औषधी खुवाईने अभियान रहेको बिहिबार संचारकर्मीहरुसंगको अन्तरक्रिय कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी र सिकिस्त बिरामीलाई औषधी सेवन गर्न नदिने जनाए । हात्तीपाइले रोगलाई निवारण गर्न सबैले आफुलाई पयाक पर्ने स्थानमा गएर औषधी सेवन गर्न शाखा प्रमुख पाण्डेले आग्रह गरे ।
गुलरिया नगरपालिकाका १२ वटै वडामा ६० जना स्वास्थ्यकर्मी ७ दिनसम्म खटाईने शाखा प्रमुख पाण्डेले जनाए । जिल्लामा ४ लाख ६१ हजार ८ सय ५२ जना हात्तीपाइले औषधी खाने संख्या रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । पहिलो दिन तोकिएको केन्द्रमा औषधी खुवाईनेछ । दोस्रो दिनबाट स्वास्थ्यकर्मी र महिला स्वयसेविका घर दैलोमा गएर औषधी खुवाउने छन् ।
गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले हात्तीपाइले औषधी सेवन अभियानमा आ–आफ्नो क्षेत्रबाट सहयोग गरी अभियान सफल बनाउन अनुरोध गरेका थिए । त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र प्रसाद धितालले संचारकर्मीहरुलाई आ–आफ्नो मिडियाबाट प्रचार प्रसार गरी हात्तीपाइले निवारण अभियान कार्यक्रममा सहयोग गर्न अनुरोध गरेका थिए ।