प्रांगारिक प्रदेश बनाउन कृषिमा जागरण आवश्यक
बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित

बुलबुले, फागुन ८ : प्रथम कर्णाली जैविक कृषि सम्मेलन २०७६ मा सहभागी विभिन्न क्षेत्रका व्यक्तिले कर्णालीलाई पूर्ण जैविक बनाउन कृषिमा आम जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

कर्णाली प्रदेशमा पहिलो पटक प्रथम कर्णाली जैविक कृषि सम्मेलन २०७६ मा आज बिहान भाग लिँदै सहभागीले कर्णालीलाई पूर्ण जैविक बनाउन आम नागरिकमा जागरण अभियान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

छलफलमा भाग लिँदै पूर्वगृहमन्त्री जनार्दन शर्माले कर्णालीको स्थानीय उत्पादनलाई प्रोत्साहन गरेर जैविक कृषिको रक्षा गर्नुपर्ने बताए । ‘कर्णालीको अर्गानिक उत्पादन बाहिर गएको छ, अब यसलाई सदुपयोग गरेर रक्षा गर्नुपर्छ, विषाधिमुक्त कर्णाली बनाउन सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्छ’, उनले भने । सरकारले कर्णालीका कृषकले आम्दानी वृद्धि गर्न पूर्ण जैविक प्रदेश निर्माणका लागि सबैभन्दा पहिला कृषि पूर्वाधारमा लगानी वृद्धि गर्नुपर्ने उनले बताए ।

उनले कर्णालीको महत्वपूर्ण र बलियो आधार जैविक कृषि भएको बताउँदै सरोकारवाला सबैले साझा अभियानका रुपमा अगाडि बढाए कर्णाली प्रदेश जैविक प्रदेश बन्ने विश्वास व्यक्त गरे । आम नागरिकको चेतनामा परिवर्तन गरेर मात्र जैविक कृषिमा वृद्धि हुने हँदा जैविक कृषिका लागि दक्ष जनशक्ति उत्पादनमा सबैको ध्यान जानुपर्ने शर्माको भनाइ छ ।

त्यस्तै कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीलाई पूर्ण जैविक बनाउन कृषिका लागि गुरुयोजना निर्माणको थालनी गरिएको जानकारी गराउनुभयो । उनले कर्णालीलाई पूर्ण जैविक प्रदेश निर्माण गर्न सरकारले किसान लक्षित कार्यक्रम सञ्चालन गरेको बताए । प्रदेशभित्रका प्रत्येक जिल्लाका कम्तीमा एउटा स्थानीय तहलाई नमूनाका रुपमा विकास गर्ने गरी जैविक कृषि कार्यक्रम सञ्चालन गरिएको कृषिमन्त्री केसीले जानकारी दिए । संसारको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली बनाउने गरी जैविक कृषि कार्यक्रम तथा अभियान सञ्चालन भइरहेको उनको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा २ नं प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अर्गानिक कृषिको विकास गर्न आम कृषकसहित सरोकारवालाले साझा अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले कर्णाली प्रदेशले लिएको महत्वपूर्ण कार्यक्रम २ नं प्रदेशले अनुशरण गर्ने बताए । कर्णालीबाट शुरु भएको जैविक कृषिलाई २ नं प्रदेशले पनि अभियानका रुपमा सञ्चालन गर्ने मन्त्री साहले बताए ।

कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलो पटक कर्णालीमा जैविक कृषि सम्मेलनमा कृषि प्रविधिको ‘अवलम्बन, अवसर, चुनौती ,नीति तथा भावी कार्यदिशा’ विषयमा व्यापक छलफल भइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिए । उनका अनुसार आज पनि नेपाल र भारतका जैविक अभियन्ता तथा कृषि विज्ञले आफ्नो प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर